बिर्तामोड । ओली वंश समन्वय केन्द्रीय समितिको केन्द्रीय अधिवेशन तथा जिल्ला शाखाको अधिवेशन एकैसाथ सम्पन्न भएको छ । बिर्तामोडस्थित ओली भवनमा आयोजित उक्त कार्यक्रममा ८३ वर्षीया जेष्ठ आमा पुण्यमाया ओलीसहित जेष्ठ नागरिकहरू तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै अधिवेशन सम्पन्न गरिएको हो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै वंशीय एकता, सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ । कार्यक्रम झापा शाखाका अध्यक्ष भवानी ओलीको सभापतित्वमा तथा जेष्ठ कुलपिता गङ्गा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अधिवेशनबाट मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओलीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । निर्वाचन समितिका संयोजक रोमनाथ ओलीले सर्वसम्मत रूपमा समिति चयन भएको घोषणा गर्नुभएको हो । नवगठित समितिमा वरिष्ठ उपाध्यक्षमा इटहरीका जगदीश ओली, उपाध्यक्षहरूमा काठमाडौंका केशवमणि ओली र सल्यानका निमबहादुर ओली चयन हुनुभएको छ ।
त्यसैगरी महासचिवमा बिर्तामोडका मोहनप्रसाद ओली, सचिवहरूमा दाङका जागेश्वर ओली र काठमाडौंका जीवन ओली चयन हुनुभएको छ । कोषाध्यक्षमा कन्काईका यज्ञराज ओली चयन हुँदा सदस्यहरूमा दोलखाका हरि ओली, काठमाडौंका तुलसीराम ओली र घनश्याम ओली, मोरङका होमप्रसाद ओली, सुर्खेतका लोकबहादुर ओली, सुनसरीका ओमप्रसाद ओली, झापाको मेचीनगरका युद्धराज ओली, कन्काईका अनिरुद्र ओली, दमककी खेमकुमारी ओली र बिर्तामोडकी सुनिता ओली लगायत रहनुभएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक रोमनाथ ओलीले प्रमाणपत्र प्रदान गर्नुका साथै अविर लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा वक्ताहरूले ओली वंशको इतिहास, परम्परा र एकताको महत्वबारे चर्चा गर्दै आगामी दिनमा संगठनलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा झापा शाखाका सचिव राजेन्द्र ओलीले सञ्चालन गर्नुभएको थियो भने लेखा समितिका संयोजक उपेन्द्र ओलीले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले ओली भवनको आयव्यय, संस्थाको समग्र आर्थिक अवस्था तथा कन्काई नगरपालिकामा निर्माणाधीन रहेको ओली सामुदायिक भवन र कुल मन्दिरको प्रगतिबारे जानकारी गराउनुभयो । अधिवेशनमा क्यान्सर रोग पीडित छविलाल ओलीलाई आर्थिक सहयोग समेत गरेको थियो ।
उक्त अधिवेशनले संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिमा सक्रियता बढाउने लक्ष्य लिएको जनाएको छ । साथै, वंशीय एकतालाई मजबुत बनाउँदै नयाँ पुस्तालाई आफ्नो पहिचान र संस्कृतिसँग जोड्ने प्रयासलाई प्राथमिकता दिने निर्णय गरिएको छ ।
कार्यक्रमका सहभागीहरूले यस्ता अधिवेशनले आपसी सम्बन्ध सुदृढ बनाउन, अनुभव आदानप्रदान गर्न र साझा उद्देश्यका लागि एकजुट हुन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए । सम्मानित जेष्ठ नागरिकहरूले पनि यस्तो पहलले आफूहरूलाई उत्साह र सम्मानको अनुभूति गराएको बताएका थिए ।
यसरी जेष्ठ नागरिकको सम्मान, नयाँ नेतृत्व चयन र संगठनात्मक गतिविधिको समीक्षा गर्दै सम्पन्न भएको उक्त अधिवेशनले ओली वंश समन्वय समितिको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार गरेको प्रचार विभाग प्रमुख राजकुमार ओलीले बताए ।







प्रतिक्रिया