बिर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले वैकल्पिक व्यवस्था नभई सुकुम्बासीलाई उठाउँदा समस्या हुने बताउनु भएको छ । उहाँले पहिले बस्नका लागि व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नयाँ पेपरद्वारा आज बिर्तामोडमा आयोजित पत्रकारिताको चुनौति र अबको बाटो विषयक कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईले केन्द्र सरकारको परिपत्रले स्थानीय सरकार अप्ठ्यारोमा परेको बताउनुभयो । उहाँले सुकुम्बासी बस्तीमा डोजर चलाउनु पहिले बसोबासको व्यवस्था मिलाउनुपर्ने बताउनु भएको छ । सुरुमै डोजर चलाउँदा नागरिकको विचल्ली हुने भन्दै उहाँले भन्नुभयो – नागरिकको आवासको व्यवस्था गरेर मात्रै बाँकी प्रक्रिया अघि बढाउन जरुरी छ । कुनै योजना विना डोजर चलाउने विषय मानवीय नहुने भन्दै उहाँले यस तर्फ सरोकारवालाको ध्यानाकर्षण गराउनु भएको छ ।

नगर प्रमुख प्रसाईले पछिल्लो समय मिडिया क्षेत्रमा चुनौति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । मिडिया क्षेत्रले नै चुनौतिको सामना गरेपछि सूचना प्रवाहमा पनि असर गर्ने उहाँको भनाई थियो । मिडिया क्षेत्र कोभिडपछि निरन्तर समस्यामा रहेको बताउँदै बिर्तामोड नगरपालिकाले विगतदेखि लोककल्याणकारी सुविधा उपलब्ध गराइरहेको जानकारी गराउनुभएको छ । मिडियाकर्मीलाई खोज पत्रकारिता गर्न सूझाव दिदैं उहाँले क्षमता विकासमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।
नागरिकले चाहेजस्तै खोज पत्रकारिता भएमा धेरैजसो चुनौतिहरु समाधान भएर जाने दावी गर्नुभएको छ ।
नयाँ पेपरले क्यालेण्डर समेत विमोचन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले सरकार मिडियामैत्री नभएको धारणा व्यक्त गर्नुभयो ।
विगतमा मिडिया क्षेत्रले धेरै दुख पार गरेर आएको भन्दै मिडिया क्षेत्र बचाउन सबैले प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, पहिले धेरै चुनौतिको सामना गरेर आएका छौं, अझै पनि चुनौतिको सामना गरेर अघि बढ्ने हिम्मत गरौं ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारहरुलाई सरकार र दलहरुले प्रयोग मात्रै गर्ने बताउनुभयो । पत्रकारहरुलाई प्रयोग गरेर निषेधसम्म गर्ने हर्कतका विरुद्द आवाज उठाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । अध्यक्ष गिरीले वर्तमान सरकारका कतिपय निर्णयहरुले मिडिया क्षेत्र मारमा परेको बताउदै आफूहरु आन्दोलनमा रहेको जानकारी दिनुभयो । हामी अहिले आन्दोलनमा छौं, गिरीले भन्नुभयो – जुनसुकै दल होस् वा सरकार, गलत कदमका विरुद्ध हामीले विरोध गर्नैपर्छ ।
उक्त कार्यक्रममा अधिकांश वक्ताहरुले पत्रकारिता क्षेत्रमा चुनौति थपिदैँ गएको धारणा व्यक्त गर्नुभएको थियो । सरकारले निजी मिडियालाई कमजोर बनाउने नीति लिएको अधिकांशको भनाई थियो । सरकारको उक्त कदमविरुद्द वक्ताहरुले धारणा व्यक्त गर्नुभएको थियो ।
पत्रकारिताको चुनौति र अबको बाटो विषयक कार्यक्रममा प्रेस काउन्सिलका पूर्व सदस्य गणेश पोखरेल, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृहको अध्यक्ष स्वस्तिका आचार्य, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा लगायतले धारणा राख्नुभएको थियो ।
प्राइड मिडिया प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नयाँ पेपरको सहसम्पादक सुनिरा मैनालीले गर्नुभएको थियो भने सञ्चालन प्रधान सम्पादक रमेश तिवारीले गर्नुभएको थियो ।







प्रतिक्रिया