कनकाई

फूलनारद डेन्टल सेन्टरमा आँखाजाँचको सेवा थप

फूलनारद डेन्टल सेन्टरमा आँखाजाँचको सेवा थप


सुरुङ्गा । स्थानीय आवश्यकता महसुस गरी झापाको सुरुङ्गामा फूलनारद डेन्टल सेन्टरमा आँखा जाँचको पनि सेवा थप गरिएको छ ।

२७ वर्षीय डा. अभिषेक लुइँटेलले २ वर्षअघि २ करोड रुपैयाँको लगानीमा सुरुङ्गा टप्पुचोकमा सो डेन्टल सेन्टर शुरु गरेका थिए । शनिवार भव्य कार्यक्रमका वीच कार्यक्रमका प्रमुख अतिथि स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले फूलनारद डेन्टल तथा आई केयर सेन्टरको उदघाटन गरे ।

मेयर पोखरेलले शिक्षित युवा अवसरको खोजीमा विदेशमा पलायन भइरहेको आजको जटिल अवस्थामा डा. लुइँटेलले स्वरोजगार सृजना गरी आफ्नै जन्मस्थलमा काम गर्न प्रयत्न गर्नु स्वागतयोग्य कर्म भएको बताए । आफ्नो परिवारका सदस्यले डेन्टल केयरको सेवा लिएको र आफू सेवाबाट सन्तुष्ट रहेको बताए ।

त्यसै गरी, कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस झापा सभापति देउमान थेबेले सुरुङ्गामा दाँत तथा आँखासम्बन्धी समस्याको उपचारका लागि लुइँटेल परिवारले लिएको यो कदमले आफूहरू गौरावान्वित भएको बताए ।

स्थानीय पशुपति अङ्ग्रेजी माविबाट २०७० सालमा विशिष्ट श्रेणीमा एसएलसी गरेका अभिषेकले काठमाण्डौं विश्वविद्यालय धुलिखेलबाट २०७८ मा ब्याचलर इन डेन्टर सर्जरी कोर्स पुरा गरेका थिए । सिन्धुपाल्चोकमा केही समय काम गरेका अभिषेकले अन्य अस्पतालबाट अफर आए पनि आफ्नै गाउँठाउँमा बसेर सेवा गर्ने लक्ष्यका साथ आफू र आफ्नो परिवारको पहलमा यो कार्य सुरु गरेको बताए ।

उनले भने, ‘युवा सबै विदेश जाने ट्रेन्ड छ, तर म आफ्नो परिवारका साथ आफ्नै मुलुकमा केही गर्न चाहन्छु ।’ डा. अभिषेकको आफ्नै जन्मेहुर्केको ठाउँमा रहेर समाजको सेवा गर्ने सोचको सबैले प्रशंसा गरेका छन् ।

संस्थाका प्रवन्ध निर्देशक भवानीप्रसाद लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति अङ्ग्रेजी माविका प्रिन्सिपल एलपी उप्रेती, समाजसेवी तिलचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रोटरी क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट डिल्लीराम मैनालीले डाक्टर, इन्जिनियर जस्ता युवा जनशक्ति राम्रो अवसरको खोजीमा विदेश भासिइरहेको वर्तमान अवस्थामा डा. अभिषेकको निर्णय आम युवाका लागि प्रेरणादायी र अनुशरणीय रहेको बताए ।

छोरा डा. अभिषेक र बुहारी प्रज्ञाले गरेको निर्णयमा बडीबुबा परमानन्द, काका ओम, बुबा भवानी र आमा गीताको पनि साथ र सहयोग छ । आफ्नै जन्मेहुर्केको ठाउँमा बसेर जनताको सेवा गर्ने छोराबुहारीको निर्णयमा लुइँटेल परिवार खुसी छ ।

डेन्टल सेन्टरमा दाँतको समस्यासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहने बताइएको छ । डा. अभिषेकले दिएको जानकारीअनुसार अत्याधुनिक उपकरणको सहयोगमा दाँतसम्बन्धी साधारणदेखि विशेषज्ञ सेवा २४ सै घण्टा सस्तो र सुलभ रुपमा उपलब्ध हुनेछ । सो सेन्टरमा डा. अभिषेकसँगै अर्थोडेन्टिस्ट डा. मुकेश शाह, डा. अमिर हुसेन, डा. ऋचा पाण्डेको पनि सेवा रहने सेन्टरका कर्मचारी कौशिला लुइँटेल (खतिवडा) ले जानकारी दिइन् । आँखातर्फ आँखा जाँचका साथमा चश्माघर पनि सञ्चालनमा रहने बताइएको छ । आँखाजाँचतर्फ दृष्टि विशेषज्ञ प्रज्ञा दाहाल, रेणु खत्रीलगायतको सेवा रहने छ ।

उद्घाटन कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सी का सन् २०२६-२७ का इलेक्ट गभर्नर लीलाप्रसाद चिमरिया, लायन्स क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट कुमार दाहाल, लुइँटेल बन्धु प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष अग्निदेव लुइँटेल, समाजसेवी होम दुलाल, रेडक्रसकर्मी देवीप्रसाद बाँस्तोला, गजलकार डिल्लीराम परदेशी, नेपाली काङ्ग्रेसका नेता खगेश्वर उप्रेती, शिक्षाकर्मी शिवकुमार भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका कनकाई नगर सभापति मोहन थापा, कनकाई नगरपालिका वार्ड नं. ३ वार्ड सदस्य अनिल गोयल, युवा समाजसेवी रमेशचन्द्रबाबु मैनाली, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष लीलाराज झापालीलगायतको आतिथ्य रहेको थियोे ।

कार्यक्रममा सेन्टरका प्रवन्ध निर्देशक भवानी लुइँटेलले संस्था स्थापनाको पृष्ठभूमि, सुचारु सेवा र भावी लक्ष्यका बारेमा स्पष्ट पार्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन तीर्थराज खरेलले गरेका थिए ।

शेयर गर्नुहोस :

243
Shares