बिर्तामोड । झापाको बिर्तामोड – २ श्रीहरि टोलमा नगरपालिकाले अतिक्रमित पैनी खोलेको छ । कार्यपालिकाको निर्णय बमोजिम पैनी खोल्ने काम गरिएको वडा नं. २ का वडाध्यक्ष किशोर पौडेलले जानकारी दिए ।
स्थानीयबासीले पैनी खोल्न माग गर्दै नगरपालिकामा निवेदन दिएपछि कार्यपालिकाले नक्सा बमोजिम पैनी खोल्ने निर्णय गरेको थियो । वडाध्यक्ष पौडेलका अनुसार कार्यपालिकाको निर्णय कार्यान्वयन गरेको जानकारी दिए । उनले नक्सा अनुसार पैनी खोल्ने काम सम्पन्न भइसकेको बताए । सरकारी पैनी खोल्ने क्रममा कसैमाथि अन्याय नभएको प्रतिक्रिया दिए । पैनी खोलेको केही समयमा पुर्ने काम भएको रहेछ भन्ने जिज्ञासामा जवाफ दिदैं उनले भने – हामीले सरकारी पैनी नापनक्सा अनुसार खोलेका छौं । कसैले पुर्छ भने त्यसपछिको प्रक्रिया स्वतःअघि बढ्छ । उनले केन्द्र सरकारले अतिक्रमित कुलोपैनी समेतको खोजी गर्न निर्देशन गरिसकेको बताए ।

पैनी खोल्न जेसीबी लगाएको केही घण्टामा स्थानीयले पुरपार गरेका छन् । बिर्तामोड नगरपालिकाले नेपाल प्रहरी समेतको सहयोगमा शनिवार विहान सरकारी पैनी खोजीका लागि जेसीवी लगाएको थियो ।
विवादका बीच साविकको पैनी खोजी गर्न जेसीबी लगाएर खन्ने काम भए पनि आफ्नो जग्गा दावी गर्नेले पुनः अर्को जेसीबी ल्याएर खनेको ठाउँमा पुरपार गरेका हुन् । पैनी अतिक्रमण गरेर बाली लगाएको भन्दै पैनीको खोजी गरिएको थियो । अतिक्रमित कुलोपैनी कायम गर्ने अभियान सुरु गरेको बिर्तामोड क्षेत्रमा स्थानीयबासीबीच पनि विवाद भएको छ ।
शनिवार विहानैबाट पैनी भएको ठाउँबाट बाली हटाउने काम मध्यान्नतिर सम्पन्न गरिएको थियो । पैनी पुर्नस्थापना गर्ने टोली त्यहाँबाट हिडेपछि जग्गाधनी भनिएका कृष्ण दाहालले पुरपार गरेका थिए । सो क्रममा स्थानीयबीच विवाद हुँदा स्थानीय नन्दकुमार उप्रेती सामान्य घाइते समेत भएका थिए । कुटपिटमा संलग्न २२ वर्षीय निकेश मिश्र फरार रहेको झापा प्रहरीले जनाएको छ । पैनी खोल्न गएको टोलीले दाहालको जग्गामा जेसीबी नलगाएको स्पष्ट पारेको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले सार्वजनिक सम्पत्तिको संरक्षणमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले कोही पनि अन्यायमा पर्न नहुने र सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्नुपर्ने प्रतिक्रिया दिए । पैनी भएको ठाउँमा पुरपार गरेको साँचो भए पुनःस्थापना गरिने जानकारी दिए ।
जग्गाधनी दाहालले पैनी कहाँ छ भन्नेबारे थाहा नभएको बताएका छन् । उनले नक्सामा पैनी कहाँ पर्छ थाहा नभएको बताएका हुन् । सम्बन्धित निकायले पैनीको एकिन समेत नगरी, आफ्नो स्वीकृति समेत नलिई मकैबारीमा जेसीबी लगाएको गुनासो व्यक्त गरेका छन् । मकैबारीमा जेसीबी लगाएको घटना जवरजस्ती गरिएको बताउँदै उक्त कार्यमा आफ्नो सहमति नहुने दाहालले स्पष्ट पारे ।
आफु विदेशमा हुँदा जग्गा खरिद गरेको बताउने दाहालले पैनीबारे आफुलाई जानकारी नभएको दोहो¥याए । उनले स्थानीय उप्रेती परिवारसँग बुझेरै जमिन खरिद गरेको बताउदै भने – ११ कठ्ठाको धनीपुर्जा छ । तर, बाटो र पैनीले छेकेको बीचको भूभाग मात्र भोग्ने सहमति थियो ।







प्रतिक्रिया