अर्जुनधारा

कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक तथा खेलाडीलाई विशेष तालिम सुरु

कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक तथा खेलाडीलाई विशेष तालिम सुरु


झापा । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार कोशी प्रदेशका प्रशिक्षक तथा खेलाडीहरूका लागि विशेष प्रशिक्षण तथा रिफ्रेसर सेमिनार सुरु भएको छ।

संघको आयोजनामा ११औँ ग्योरोगी तथा पुम्से सेमिनार र १२औँ ग्योरोगी, पुम्से तथा रेफ्री रिफ्रेसर सेमिनार एकसाथ सञ्चालन गरिएको हो। पाँच दिनसम्म चल्ने यस सघन तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट १०६ जनाभन्दा बढी तेक्वान्दो खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहेको छ।

कार्यक्रमको औपचारिक उद्घाटन अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा ग्रान्ड मास्टर टीका प्रसाद लिम्बू (टारजन) को संयोजकत्वमा आयोजित कार्यक्रममा खेलको पछिल्लो नियम र प्रविधिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम व्यवस्थापन संयोजक एवम् संघका झापा जिल्ला उपाध्यक्ष दिपेन धिमालले जानकारी दिए । सेमिनार विशेष गरी ग्योरोगी र पुम्से विधामा केन्द्रित रहेको छ ।

उक्त सेमिनारमा कोशी प्रदेश तेक्वान्दो संघका अध्यक्ष गोपाल राई, उपाध्यक्ष संजय राई, ग्राण्ड मास्टर प्रदिप श्रेष्ठ, सिनियर मास्टर फडिन्द्र खड्का, झापा जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

५ दिने तालिमले प्रशिक्षक र खेलाडीहरूलाई आधुनिक प्रतिस्पर्धात्मक खेलका रणनीति र प्रविधिको शुद्धताबारे बुझ्न मद्दत पु¥याउने विश्वास लिइएको छ । साथै रेफ्री रिफ्रेसर कोर्षले खेल सञ्चालनमा हुने त्रुटीहरू कम गर्न र नयाँ अन्तर्राष्ट्रिय नियमहरूसँग अपडेट हुन सहयोग पुग्ने आयोजकले जनाएको छ । कोशी प्रदेशमा तेक्वान्दोको स्तरलाई थप उचाइमा पु¥याउन यो तालिम महत्वपूर्ण हुने मानिएको छ ।

शेयर गर्नुहोस :

1.6k
Shares