Banner news

वर्तमान सरकार पनि मिडियाप्रति निरंकुश बन्यो : कार्यबाहक अध्यक्ष आचार्य

वर्तमान सरकार पनि मिडियाप्रति निरंकुश बन्यो : कार्यबाहक अध्यक्ष आचार्य


बिर्तामोड । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले हरेक सरकार पत्रकारविरुद्ध निरंकुश बनिरहेको बताएका छन् । पत्रकारविरुद्ध निरंकुश बन्ने र प्रेस स्वतन्त्रलाई संकुचित गर्ने कार्य स्वीकार गर्न नसकिने आचार्यको भनाई छ ।

पत्रकार महासंघ झापाको सोमवार बिर्तामोडमा आयोजित वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि आचार्यले वर्तमान सरकार पनि मिडियाप्रति निरंकुश बनेको धारणा व्यक्त गरे । उनले सरकारको विज्ञापन नीति नै विभेदकारी भएको स्पष्ट पारेका छन् । सरकारी मिडियामा मात्र विज्ञापन दिनुपर्ने सरकारको नीतिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने उनको धारणा थियो ।

आचार्यले भने, सरकारको नीति आर्थिक नाकाबन्दी मात्र होइन, प्रजातन्त्र र नागरिकलाई संवैधानिक अधिकारबाट बञ्चित गराउने प्रपञ्च हो । सरकारले प्रेसलाई थ्रेट गर्ने प्रयास भएमा नागरिकको सूचनाको हक गुम्ने खतरा बढेर जाने बताए । स्थानीय मिडियाको महत्व नबिर्सन आग्रह गर्दै उनले भने, कोभिडको समयमा कसरी सुरक्षित रहने भन्ने जानकारी, खवर कसले गरेको थियो ? उनले स्थानीय मिडियाहरुको भूमिका महत्वपूर्ण भएको बताउँदै सरकारलाई नागरिकको हकलाई कुण्ठित नगर्न सूझाव दिए । वार्षिक साधारणसभामा अधिकांश वक्ताले सरकारी सूचना तथा विज्ञापन नीतिप्रति असन्तुष्टि जनाएका थिए ।

सो अवसरमा विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मानसमेत गरिएको थियो । भद्रपुर प्रेस क्लबलाई सम्मान गरिनुका साथै १२१ पटक रक्तदान गर्ने पत्रकार हल्दीबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम बिमली र महासंघलाई सहयोग गरेको भन्दै शिक्षक तथा पत्रकार रञ्जित परियारलाई नगदसहित सम्मान गरिएको थियो ।

लैङ्गिक पत्रकारितामा सक्रिय योगदान पु¥याएकोमा गृष्मा सापकोटालाई २५ हजार रुपैयाँसहित ‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । हिमशिखर टेलिभिजनमा आवद्ध सापकोटालाई विशेश्वर प्रसाद बजगाईं (विपीन) र विनिता–होमकला बजगाईंले स्थापना गरेको उक्त पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी महासंघ झापाले प्रकाशन गरेको ‘चौथो अङ्ग’ म्यागजिनको विमोचन पनि गरिएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमकै क्रममा बिर्तामोडस्थित होटल द किङ्सबरीकी कार्यकारी निर्देशक जानु धिताल र इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयलाई कदरपत्र प्रदान गरिएको थियो । साथै पत्रकार सहारा उपचार अक्षयकोषका लागि विभिन्न क्षेत्रका दाताबाट आर्थिक सहयोग गर्दै कोष वृद्धिमा रकम प्रदान गरेका थिए ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सभामा झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले स्वागत गरेका थिए ।

अध्यक्ष गिरीले वर्षभरि सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउँदै वर्तमान नीतिले स्थानीय सञ्चारमाध्यमलाई कमजोर बनाउने खतरा रहेको बताए । उनले सामाजिक सञ्जालमा आउने सबै सामग्रीलाई समाचारको रूपमा नलिन आग्रह गर्दै आधिकारिक र प्रमाणित सूचनाको पहिचान गर्नुपर्ने आवश्यकता औंल्याए ।

गिरीका अनुसार महासंघले स्थापना गरेको ‘सहारा पत्रकार उपचार कोष’लाई आगामी दिनमा दुई करोड रुपैयाँ पु¥याउने लक्ष्य लिएको छ ।

हाल कोषमा करिब १ करोड ३२ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिँदै उनले साधारणसभामै विभिन्न दाताबाट सहयोग प्राप्त भएको बताए । कार्यक्रममा कोशी प्रदेश अध्यक्ष भरत खड्का, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, पूर्व अध्यक्ष कृष्ण हुमागाईं, अग्रज पत्रकार चन्द्र भण्डारी, मोरङ अध्यक्ष सुशीला पाठक, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्कालगायतले सरकारी विज्ञापन नीतिप्रति आपत्ति जनाएका थिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक वशुन्धरा खड्का, अरिदमन गण चारआलीका प्रमुख सेनानी सरोज थापा, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापा प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका प्रमुख उमेश पाण्डे, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमुद अधिकारी ,नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी , नेपाल पत्रकार महासंघ कोशी प्रदेश महासचिवः हिमा चेम्जोङ, सदस्य राजकुमार ओली लगायत नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष तथा झापाली पत्रकारहरु सहभागी थिए । कार्यक्रमको सञ्चालन महासंघ झापाका सचिव राजु पाठकले गरेका थिए ।

शेयर गर्नुहोस :

162
Shares