बाँके । संघीय सरकारले सुकुम्बासी बस्ती खाली गर्न डोजर अभियान चलाइरहँदा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाँके–१ का सांसद सुरेशकुमार चौधरीको पक्की घर पनि ऐलानी जग्गामा बनेको खुलेको छ ।
कोहलपुर नगरपालिका–२ सिमलघारीस्थित ऐलानी जग्गामा दुईतले पक्की घर आफूले २०७५ सालमा निर्माण गरेको चौधरीले स्वीकारेका हुन् । उनका अनुसार करिब दुई कठ्ठा क्षेत्रफलमा बनेको घर जेठा छोराको नाममा रहेको र परिवार हाल त्यही बसोबास गर्दै आएको छ ।
चौधरीले आफूहरू सुकुम्बासी नभई अव्यवस्थित बसोबासी भएको दाबी गर्दै विगतको विस्थापनका कारण खाली जग्गामा बसोबास गर्नुपरेको बताए ।
यसअघि कैलाली–२ का रास्वपा सांसद केपी खनाल, मकवानपुर–२ का सांसद प्रसान्त उप्रेती, झापा–४ का सांसद शम्भु ढकालको घर ऐलानी जग्गामा बनेको खुलेको थियो ।
नेपालमा दीर्घकालदेखि समाधान हुन नसकेको एक भूमिसम्बन्धी समस्या पछिल्लो दिनहरुमा चर्चामा रहेको छ ।
विशेष गरी केन्द्र सरकारले जग्गा अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई परिपत्र गरेपछि वर्षौँदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका सर्वसाधारण समस्यामा परेका छन् ।
यसैबीच, देशभरका भूमिहीन तथा सुकुम्बासीहरूले सोमबारबाट सरकारविरुद्ध प्रदर्शन सुरु गरिरहेका छन् ।







प्रतिक्रिया