Banner news

बिर्तामोड कृषिथोकमा भारतीय व्यवसायी, सम्झौता २५ गते स्वतः खारेज हुने

बिर्तामोड कृषिथोकमा भारतीय व्यवसायी, सम्झौता २५ गते स्वतः खारेज हुने


बिर्तामोड । बिर्तामोडस्थित कृषिथोक बजारमा भारतीय नागरिकहरुले व्यापार गरिरहेको पाइएको छ । नेपाली व्यवसायीहरुले सम्झौता गरेको ठाउँमा भारतीय नागरिकले व्यापार गरिरहेको बजार निरीक्षक कमल अधिकारीले जानकारी दिए । उनीहरुलाई पनि हटाउन समितिले काम अघि बढाएको छ ।

सम्झौता विपरित व्यापार गरिरहेका व्यापारी हटाउन ताकेता गरिरहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिलाई भारतीय व्यापारीको तनाव थपिएको छ । नेपाली नागरिकले सम्झौता गरेको ठाउँमा भारतीय नागरिकले व्यवसाय सञ्चालन गरिरहेको सूचना छ, अधिकारीले भने – बैशाख २५ सम्म कारबाही गरिसक्छौं ।

कृषि बजार व्यवस्थापन समितिले यसअघि बैशाख ११ सम्म असम्बन्धित व्यवसायीहरुलाई ठाउँ खाली गर्न अल्टिमेटम दिएको थियो । सो समयभित्र ठाउँ खाली नभएपछि समितिले अन्तिम पटकलाई २५ गतेको समयसीमा तोकेको हो । बैशाख २५ सम्म ठाउँ खाली गरिसक्नुपर्ने सूचना पसल पसलमा टासिएको छ ।

व्यवसाय सञ्चालन गर्न एउटा व्यवसायीले सम्झौता गर्ने र त्यो ठाउँ लाखौं रुपैयाँमा विक्री गर्ने गरेको पाइएको छ । कतिपय व्यापारीहरुले ३ हजार भाडामा व्यवसाय गर्न सम्झौता गरेको ठाउँ १०–१२ लाखसम्म विक्री गरेको बुझिएको छ । विक्री नगरिएको खण्डमा महंगोमा भाडामा लगाउने गरेको सूचना प्राप्त भएको छ ।

कृषिथोक बजारलाई व्यवस्थापन गर्न समितिले पटक–पटक असम्बन्धित व्यवसायीहरुलाई ठाउँ खाली गर्न भनेपनि अटेर गरेर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

व्यवस्थापन समितिले सम्झौता गर्ने बाहेकका व्यवसायीले व्यवसाय सञ्चालन गरिरहेको जनाउँदै ठाउँ खाली गर्न भनेको हो । सम्झौता विपरित व्यवसाय गरेमा कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ बमोजिम यसअघिको सम्झौता खारेज गरेर कारबाही गरिने जनाइएको छ । २५ गतेभित्र ठाउँ नछोडे स्वतः सम्झौता खारेज हुने जनाइएको छ ।
निर्देशिका बमोजिम सम्झौता गर्ने बाहेकले व्यापार गर्न पाउने छैनन् । आफन्त, साथीभाईलाई समेत आफूले भाडामा लिएको ठाउँ कसैलाई दिन नमिल्ने निर्देशिकामा उल्लेख छ । आफूले व्यापार गर्न नसकेको खण्डमा कार्यालयलाई नै बुझाउनु पर्ने व्यवस्था रहेको व्यवस्थापन समितिले जनाएको छ ।

व्यापारीहरुले व्यापार गरिरहेको ठाउँमा समितिले नयाँ सम्झौता गरिदिनुपर्ने माग गर्दै आएका छन् । यसअघि ८४ वटा पसलमा यस्तै समस्या भएपछि नयाँ सम्झौता गरिएको थियो । तत्कालिन अध्यक्ष कमल पौडेलको कार्यकालमा विभागसँगको समन्वयमा नयाँ सम्झौता गरिएको थियो । सोही अनुसारको सम्झौता गरिदिनुपर्ने माग व्यवसायीहरुले दोहो¥याएका छन् ।

नयाँ सम्झौताका लागि विभागले एक पटकलाई नयाँ सम्झौता गर्न सहमति दिएको थियो । १२ वर्षमा एक पटकलाई सहमति दिएको विभागले अर्को पटक नयाँ सम्झौता नगर्ने स्पष्ट पारेको थियो । व्यापारका लागि सम्झौता गर्ने एउटा, व्यापार गर्ने अर्कै भएपछि थप समस्या बढ्न नदिन समितिले सूचना टाँस गर्दै व्यवस्थापनका लागि व्यापारीहरुलाई आग्रह गरेको हो ।

कृषिथोक बजारमा २५ वटा पसलमा अरु नै व्यवसायवासीहरुले व्यापार गरिरहेको पहिचान गरिएको छ । सम्झौतामा परिवारभित्र बुबा,आमा,छोराछोरीले मात्रै व्यवसाय सञ्चालन गर्न सक्नेछन् ।

शेयर गर्नुहोस :

1.2k
Shares