बिर्तामोड । अर्जुनधारा –११ स्थित नयाँ बसपार्क क्षेत्रमा बसोवास गर्ने पीडितहरुले आफ्नै सांसदबाट निराशाजनक व्यवहार भोगेका छन् । झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद इन्दिरा राना मगरको व्यवहारबाट पीडितहरु थप पीडित हुनुपरेको प्रतिक्रिया दिएका छन् ।
वर्षौदेखि ५१ विघा क्षेत्रमा बसोबास गर्दै आएका पीडित परिवारले बिहीवार दिउँसो आफ्नो समस्या राख्न बसपार्क क्षेत्रमा सांसद रानालाई निम्तो गरेका थिए । चुनावमा समस्या समाधान गर्ने आश्वास पाएका पीडितहरुले हालसम्म भएको प्रगति र अबको योजनाबारे उनलाई जिज्ञासा राखेका थिए । फूलमालासहित सांसद रानालाई स्वागत गरेका स्थानीयले जिज्ञासा राख्दा राख्दै बीचबाट उनी हिडेको सार्वजनिक भएको भिडियोमा देखिएको छ । बसपार्क क्षेत्रमा पीडित परिवारले संघर्ष समिति बनाएर आफ्नो माग राख्दै आएका छन् ।

सोही अनुसार सांसद रानालाई उनीहरुले आफ्नो समस्या पुनःस्मरण गराउन बोलाएका थिए । सांसद रानाबाट हालसम्म समस्या समाधानका लागि के–के पहल भयो ? भन्ने जिज्ञासा राख्दाराख्दै पीडितहरुमाथि नै आक्रोसित भएको भिडियो देखिन्छ । पीडितहरुले सांसदबाट सहानुभूति पाउने अपेक्षा गरे पनि उल्टै निराश बनाएको अधिकांशले प्रतिक्रिया दिएका छन् । कुराकानीका क्रममा सांसद रानाले ‘संसदमा ५१ विघाको समस्या उठाएदिएको’, ‘मिडियामा बोलिदिएको’ जस्ता प्रतिक्रिया दिएकी थिइन् । उनले आफु मन्त्री वा सरकार नभएको भन्दै पीडितहरुको प्रश्नबाट आफूलाई पन्साउने प्रयास गरेकी थिएन् ।
सांसद रानालाई कतिपयले प्रधानमन्त्री बालेन शाहले यस विषयमा के भन्नुभयो ? जस्ता प्रश्न गरेका थिए । पीडितहरुले प्रधानमन्त्रीलाई भेटाइदिन आग्रह गरेको प्रश्नमा सुनिएको थियो ।
३ वर्षदेखि घरजग्गा किनबेच बन्द भएको सो क्षेत्रका बासिन्दाहरुले सरकारले समाधानमा चासो नदिएको धारणा राखेका थिए । स्थानीयबासीलाई जानकारी नै नदिई किनबेच बन्द गरिएको सो क्षेत्रमा वर्तमान सरकारले बाधा फुकाउनुपर्ने उनीहरुको धारणा छ ।
संघर्ष समितिका संयोजक सुजन शिवाकोटीले बालेन सरकारसहित ४ वटा सरकार समक्ष समस्या समाधानका लागि पहल गरिएको बताए । उनका अनुसार दुई तिहाईको बालेन सरकारले समाधान गर्ने अपेक्षा गरेको भए पनि प्रभावकारी रुपमा चासो नदिएको स्पष्ट पारे । उनले भने, ‘कि सरकारीकरण होस्, कि त रोक्का फुकुवा होस् । यसरी हामीलाई अप्ठ्यारोमा पार्न मिल्दैन ।’
रास्वपा सरकारले छिट्टै निकास दिने आशा गरेको भए पनि सो अनुसार रेस्पोन्स नपाएको उनको भनाई छ । उनले आफु संघर्ष समितिको संयोजक भएकाले पीडितहरुले दैनिक जसो समस्या समाधानका लागि पहल गर्न दवाव दिइरहेको बताए । उनले सांसद राना पनि पीडितहरुले आफ्नो गुनासो राख्दा रिसाएको जानकारी दिए । काठमाडौं हुँदा पनि पटक –पटक फोन सम्पर्क गरियो, उनले भने – कहिल्यै चित्त बुझ्दो जवाफ आउदैन । पीडितहरुले समस्या समाधान नहँुदा सुत्न समेत नदिएको दुखेसो पोखेका छन् ।
सांसद रानाले कार्यक्रम छोडेर पीडितहरुको समस्या सुन्न आएको प्रतिक्रिया दिइन् । उनले आफूमाथि ठिक ढंगको व्यवहार नभएको बताइन् । समस्या समाधानमा अगुवाई गर्ने प्रतिवद्धा जनाए पनि उनलाई प्रश्नबाट भागेको आरोप लागेको छ ।
२०८० माघ २४ को सर्वोच्चको फैसलापछि ५१ विघामा समस्या छ । बसपार्क समन्वय समितिले फैसलामै त्रुटि रहेको निष्कर्ष निकालेको छ । यो समस्या अहिलेको सरकारले नै गर्ने उनीहरुले विश्वास गरेका छन् ।
चुनावअघि नै राजनीतिक दल र सरोकारवालाहरुले बसपार्कको समस्या समाधानमा प्रतिवद्धता जनाएका थिए । एक डेढ महिनामा समस्या समाधान गर्ने जनाए पनि हालसम्म कुनै समाधानको संकेत देखिएको छैन ।







प्रतिक्रिया