मेचीनगर । मेचीनगर–३ वडा कार्यालय अन्तर्गत रहेको खेलकुद समितिको आयोजनामा सम्पन्न दोश्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ । बिहीबार बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा वडा नम्बर ५ लाई २–० गोलअन्तरले पराजित गर्दै वडा नम्बर १२ च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलको सुरुआतदेखि नै आक्रामक देखिएको वडा नम्बर १२ ले खेलको १२औँ मिनेटमै अग्रता लिन सफल भयो । टोलीका फरवार्ड मनोज राईले आकर्षक गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफभरि दुवै टोलीले थप गोलका अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।

दोस्रो हाफमा पनि वडा नम्बर १२ ले खेलमाथि पकड कायम राख्यो । खेलको ४८औँ मिनेटमा विवेक राईले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि वडा नम्बर ५ ले खेलमा फर्किने प्रयास गरे पनि वडा नम्बर १२ को सुदृढ डिफेन्स र उत्कृष्ट गोलकिपिङका कारण गोल गर्न असफल रह्यो । निर्धारित समयसम्म थप गोल हुन नसकेपछि वडा नम्बर १२ विजयी बन्दै प्रतियोगिताको उपाधि चुम्न सफल भयो ।
फाइनल खेलमा वडा नम्बर ५ ले उत्कृष्ट संघर्ष गरे पनि अनुभवको कमी स्पष्ट रुपमा देखिएको थियो । युवा खेलाडीहरुले जोशपूर्ण प्रदर्शन गरे तापनि निर्णायक क्षणमा अवसरको सदुपयोग गर्न नसक्दा टोली उपाधिबाट वञ्चित बन्न पुग्यो । अर्कोतर्फ वडा नम्बर १२ ले अनुभवी खेलाडीहरुको संयमित खेलमार्फत खेलमाथि नियन्त्रण कायम राख्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो । उपाधिसँगै विजेता वडा नम्बर १२ ले नगद ४० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको वडा नम्बर ५ ले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर १२ का मनोज राई ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा वडा नम्बर ५ का राज क्षेत्री ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए भने वडा नम्बर ५ कै आयुष तामाङ उत्कृष्ट डिफेन्डर चुनिए । त्यसैगरी विजेता टोलीका युवराज पुरी उत्कृष्ट गोलरक्षक घोषित भए । आयोजक टोलीका विश्वास मगर ‘राइजिङ प्लेयर’ घोषित हुँदा वडा नम्बर १२ का मनोज राई सर्वाधिक गोलकर्ता बने ।
विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताभर प्रदान गरिएको ‘म्यान अफ द म्याच’ पुरस्कारको प्रायोजन ल्होत्से इङ्लिस स्कुल, मेचीनगर–९ ले गरेको थियो ।
खेम साँवाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर–३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेत, मेचीनगर–१० का वडा अध्यक्ष नारायण खनाल, मेचीनगर–१२ का वडा अध्यक्ष मधुसुधन निरौला, मेचीनगर–६ का कार्यवाहक अध्यक्ष भविन्द्र सुब्बा, बलभद्र आधारभूत विद्यालयका प्रधानाध्यापक निरज पोखरेल, वहुवन सामुदायिक वनका अध्यक्ष रञ्जु थापा, पाँचपोखरी सामुदायिक वनका अध्यक्ष भोगेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बलभद्र आधारभूत विद्यालयका शिक्षक देवु बानियाँले गरेका थिए ।

कार्यक्रममा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न संघ–संस्था तथा सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो । खेलकुद गतिविधिलाई निरन्तर सहयोग र प्रोत्साहन पुर्याएको भन्दै आयोजकले उनीहरुलाई सम्मानपत्र प्रदान गरेको हो ।
त्यसैगरी, कार्यक्रममा सञ्चार क्षेत्रमार्फत प्रतियोगिताको प्रचार–प्रसार तथा खेलकुद गतिविधिलाई उजागर गर्न योगदान पुर्याएको भन्दै सञ्चारकर्मी किशोर उपरकोटी लाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।







प्रतिक्रिया