फादर जगत बहादुर वाग्ले
मानव जीवन भनेको बाह्य अस्तित्व मात्र होइन । तर, त्रिएक परमेश्वरको प्रतिरुपमा सृष्टि गरिएको एउटा गहिरो आत्मिक रहस्य हो । अर्थोडक्स ख्रीष्टियन परम्परामा, मानव स्वभावको बुझाई दार्शनिक वा वैज्ञानिक विश्लेषणमा सिमित छैन । यो पवित्र धर्मशास्त्र बाईबल, प्रेरितहरूको शिक्षा र पवित्र सन्तहरूको जीवनको अनुभवमा आधारित एउटा जीवित सत्य हो । यसैले, मानव “संरचना” सम्बन्धी शब्दावलीलाई सही अर्थमा बुझ्नु आत्मिक जीवनको मार्गमा अत्यन्त आवश्यक हुन्छ ।
अर्थोडक्स विश्वास र शिक्षाअनुसार, मानिस शरीर, आत्मा र आत्मिक चेतनाको एक अद्वितीय एकता हो । यी तत्वहरू अलग–अलग होइनन्, तर परमेश्वरद्वारा सन्तुलित रूपमा एकसाथ गाँसिएका छन् । जसले मानव अस्तित्वलाई पूर्णता दिन्छ ।

मानव शरीर
शरीर मानव स्वभावको दृश्य र भौतिक पक्ष हो । जसलाई पवित्र धर्म शास्त्रले “धुलोबाट बनाइएको” भनेर वर्णन गर्दछ (उत्पत्ति २ः७) । शास्त्रको दृष्टिले हेर्दा, मानव शरीर प्रकृतिको अंश हो । केही अर्थमा अन्य जीवित प्राणीहरूसँग सम्बन्धित पनि देखिन्छ तर अर्थोडक्स विश्वासले शरीरलाई साधारण भौतिक वस्तुका रूपमा मात्र हेर्दैन, जीवित परमेश्वरको सृष्टिको एक पवित्र अंशका रूपमा हेर्छ ।
शरीर खराब वा पापमय हुदैन । बरु, यो परमेश्वरको हातले निर्माण गरिएको “अत्यन्त राम्रो” सृष्टि हो । पापको कारणले शरीर दुर्बल र मृत्युशील भएको हो । तर यसको मूल स्वभाव पवित्र र सम्माननीय नै रहन्छ । त्यसैले, अर्थोडक्स विश्वास र पवित्र परम्परामा मानव शरीरलाई तिरस्कार गरिँदैन । यसलाई पवित्र आत्माको मन्दिरको रूपमा सम्मान गरिन्छ ।
पवित्र बाईबलको पवित्र वचनले भन्दछ, जब “वचन देहधारी हुनुभयो” (यूहन्ना १ः१४), तब परमेश्वर आफैले मानव शरीर धारण गर्नुभयो । यस महान् रहस्यले शरीरको गरिमा अझ उचाइमा पु¥याएको छ । यसले स्पष्ट पार्दछ कि मुक्ति भनेको आत्माको लागि मात्र होइन । सम्पूर्ण मानव अस्तित्व शरीरसहितका लागि हो ।
आत्मिक जीवनमा शरीरको भूमिका
अर्थोडक्स जीवनशैलीमा शरीर भनेको एउटा बाह्य आवरण मात्र होइन । तर आराधना र प्रार्थनाको सक्रिय सहभागी हो । उपवास, घुँडा टेक्ने प्रार्थना, धूप, च्यान्टिङ्ग र पवित्र संस्कारहरू यी सबैमा शरीरको सक्रिय सहभागिता रहन्छ । यसले के देखाउँछ भने मुक्ति र पवित्रता भनेको मानसिक वा आत्मिक अभ्यास मात्र होइन, तर सम्पूर्ण अस्तित्वको रूपान्तरण हो ।
अन्तमा ः मानव शरीर परमेश्वरको अनुपम वरदान हो । धुलोबाट बनेको भए पनि दिव्य महिमामा सहभागी हुन बोलाइएको हो । अर्थोडक्स ख्रीष्टियन विश्वासको दृष्टिमा, मानव जीवनको लक्ष्य शरीर र आत्माको विरोध होइन । तर तिनीहरूको पवित्र एकता मार्फत त्रिएक परमेश्वरसँगको संगति प्राप्त गर्नु हो ।
यसकारण, जब हामी आफ्नो शरीरलाई सम्मान गर्छौं, शुद्ध राख्छौं र त्रिएक परमेश्वरको सेवामा आफुलाई अर्पण गर्छौं । तब हामी शारीरिक जीवनमा मात्र होइन, अनन्त जीवनको मार्गमा अघि बढिरहेका हुन्छौं ।
यरुशलेम बिलिभर्स इस्टर्न चर्च,
भद्रपुर –झापा







प्रतिक्रिया