बिर्तामोड

तक्षशिला स्कुल र भारतको एभियोट्रोन एरोबेबीच ऐतिहासिक सम्झौता

तक्षशिला स्कुल र भारतको एभियोट्रोन एरोबेबीच ऐतिहासिक सम्झौता


बिर्तामोड। भविष्य केन्द्रित शिक्षा र अत्याधुनिक नवप्रवर्तनको क्षेत्रमा फड्को मार्दै बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुल र भारतको प्रतिष्ठित एअरोस्पेस संस्था एभियोट्रोन एरोबेबीच ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

एक विशेष समारोहका बीच विद्यालयका तर्फबाट कार्यकारी निर्देशक डा. अञ्जली कार्की तथा शैक्षिक निर्देशक डा. भिक्टर आई. जोसेफ र एभियोट्रोन एरोबेका बिजनेस पार्टनर सुभाषिस चटर्जीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।

यस साझेदारीसँगै तक्षशिला स्कुलले नेपालमै पहिलो पटक विश्वस्तरीय स्पेस टेक्नोलोजी एण्ड रिसर्च, कृत्रिम बौद्धिकता, डाटा साइन्स, रोबोटिक्स, अटोमेसन, एअरोस्पेस, एभिएसन र अटोमोबाइल शिक्षालाई विद्यालय तहमा भित्र्याउने लक्ष्य राखेको छ।

सम्झौता अनुसार विद्यार्थीहरूले अत्याधुनिक पूर्वाधार र व्यवहारिक सिकाइका अवसरहरू प्राप्त गर्नेछन्, जसले उनीहरूलाई २१औँ शताब्दीका आधुनिक करियरका चुनौती र अवसरहरूको तयारीमा ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। विशेष गरी उन्नत प्रविधि र कम्पोजिट स्किल्स ल्याबमार्फत विद्यार्थीहरूले अनुभवमा आधारित र सीपमुखी शिक्षा हासिल गर्ने वातावरण प्राप्त गर्नेछन्।

सम्झौता कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा. अञ्जली कार्कीले यस सहकार्यले तक्षशिलाको २१औँ शताब्दी सुहाउँदो सीप, सिर्जनशीलता र प्राविधिक दक्षतामार्फत विद्यार्थीहरूलाई परम्परागत कक्षाकोठाभन्दा बाहिरको वृहत् संसारमा सक्षम बनाउने दृष्टिकोणलाई प्रष्ट पारेको बताउनुभयो।

अत्याधुनिक ल्याब उपकरण र उद्योगमुखी तालिमका माध्यमबाट शिक्षा र वास्तविक जीवनको प्रयोगबीचको दूरी कम गर्न यो पहल कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ। यस ऐतिहासिक समझदारीले तक्षशिलालाई प्रोग्रेसिभ शिक्षा र विश्वस्तरीय उत्कृष्टताको यात्रामा एक कदम अघि बढाएको छ।

शेयर गर्नुहोस :

675
Shares