अर्जुनधारा

अर्जुनधारा धामको मुख्य प्रवेशद्वार शिलान्यास

अर्जुनधारा धामको मुख्य प्रवेशद्वार शिलान्यास


बिर्तामोड । अर्जुनधारा जलेश्वर धामको मुख्य प्रवेशद्वारको एक भव्य समारोहका बीच शिलान्यास सम्पन्न भएको छ । शुक्रवार कोशी प्रदेशका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तिलचन पाठक (चिन्तन), धामका मुख्य गुरु, धाम समिति अध्यक्ष, प्राविधिक टोली, जनप्रतिनिधि तथा स्थानीय अग्रजहरूको उपस्थितिमा शिलान्यास गरिएको हो ।

नयाँ गौरव, नयाँ पहिचान, हाम्रो सबैको आस्था र भरोसाको केन्द्र अर्जुनधारा नगरपालिकाको पहिचान ‘पूर्वको पशुपतिनाथ’ भन्दै अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीले प्रवेशद्वार शिलान्यास गरिएको जानकारी दिए ।
अर्जुनधारा वडा नं. ८ को विशेष पहल, नगरपालिकाको समन्वय र कोशी प्रदेश सरकारको मन्त्रीस्तरीय बजेट तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा प्रवेशद्वार निर्माण थालिएको हो ।

अर्जुनधारामा वार्षिक श्रावणी बोलबम, शिवरात्रि र पितृहरूको मोक्षका लागि लाग्ने प्रसिद्ध बालाचतुर्दशी मेलाको समयमा भक्तजनको चापलाई व्यवस्थित गर्न प्रवेशद्वारले ठूलो भूमिका खेल्ने जनाइएको छ ।

नेपालका विभिन्न जिल्लाहरूका साथै छिमेकी मुलुक भारतको दार्जिलिङ, खरसाङ, सिक्किम र बंगालबाट समेत भक्तजनहरू आउने पवित्र स्थललाई प्रदेश सरकारको पर्यटन वर्षको लक्ष्यसँग जोड्दै थप व्यवस्थित बनाइने बताइएको छ । मुख्य प्रवेशद्वारको अभाव खड्किरहेकोमा अब कलात्मक र आकर्षक गेटले धामको गरिमालाई अझ उँचो बनाउने वडाध्यक्ष उप्रेतीले बताए ।

शेयर गर्नुहोस :

108
Shares