झापा

जङ्गली च्याउ खाँदा बाह्रदशीमा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा बाह्रदशीमा ११ जना बिरामी


बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जङ्गली च्याउ खाँदा ११ जना बिरामी परेका छन् । आइतबार बिहान जंगलबाट ल्याएको विषालु च्याउ खाँदा उनीहरू बिरामी भएका हुन् ।

प्रहरीका अनुसार स्थानीय तेज बहादुर खवासको घरमा आज बिहान करिब १०ः०० बजे जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका थिए । च्याउ खाएको केही समयपछि नै उनीहरूमा बान्ता हुने र टाउको दुख्ने जस्ता समस्या देखिएको थियो ।

बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास र २० वर्षीया अनिता खवास रहेका छन् । बिरामी हुने अन्य ८ जना भने बालबालिका रहेका छन् । बिरामीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पु¥याइएको थियो ।

प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरिए पनि थप प्रभावकारी उपचारका लागि ९ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । बिरामीमध्ये २ जनाको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ । वर्षायामको सुरुवातीसँगै जताततै उम्रिने जङ्गली च्याउ नचिनिकन नखान स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

शेयर गर्नुहोस :

54
Shares