बिर्तामोड

बिर्तामोडका महिलाहरूलाई कानूनी साक्षरता तालिम

बिर्तामोडका महिलाहरूलाई कानूनी साक्षरता तालिम


बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १० का महिलाहरूलाई आफ्ना हक र अधिकारप्रति सचेत गराउने उद्देश्यले आज एकदिने कानूनी साक्षरता तालिम सम्पन्न भएको छ ।

नारी सञ्चार गृह झापाको आयोजना तथा बिर्तामोड–१० वडा कार्यालयको सहयोगमा टोल विकास संस्थामा आबद्ध महिलाहरूका लागि उक्त तालिम आयोजना गरिएको हो ।

नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष दुर्योधन गुरुङ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले महिला सशक्तीकरणका लागि कानूनी ज्ञान अनिवार्य रहेको उल्लेख गर्नुभयो । उहाँले महिलाको क्षमता विकासका लागि वडा कार्यालय सधैँ साथमा रहने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमले समाजलाई समृद्ध बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अतिथि एवं वडा सदस्यहरू धनमाया श्रेष्ठ र दिपिका सिवाले कानूनी ज्ञानले महिलाको आत्मविश्वास बढाउने र अन्याय विरुद्ध बोल्न मद्दत पुग्ने बताउनुभयो । तालिमको मुख्य सहजीकरण अधिवक्ता कविता बाँस्तोलाले गर्नुभएको थियो । उहाँले महिलासँग सम्बन्धित कानून, पैतृक सम्पत्तिमा अधिकार, घरेलु हिंसा, शारीरिक तथा मानसिक यातना र कानूनी उपचारका प्रक्रियाबारे सहभागीहरूलाई विस्तृत जानकारी दिनुभएको थियो ।

संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल र निवर्तमान अध्यक्ष रोजिना गौतमले कानूनको अभावमा महिलाहरू पछि परिरहेको अवस्थालाई मध्यनजर गर्दै सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । तालिममा सहभागी महिलाहरूले कार्यक्रम अत्यन्तै फलदायी रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा यस्ता कार्यक्रमको समयावधि थप गर्नुपर्ने सुझाव दिएका थिए ।

संस्थाकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक जोसना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव दीपा पोख्रेलले गर्नुभएको थियो । तालिममा वडाका विभिन्न टोल विकास संस्थाका महिला प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

432
Shares