अर्जुनधारा । प्यारालाइसिस (पक्षघात) का कारण लामो समयदेखि ओछ्यान परेका अर्जुनधारा–५ कञ्चनवारी निवासी नबु लावर दर्जीलाई इजरायली झापाली समाजले आर्थिक सहयोग प्रदान गरेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेका झापालीहरूको साझा संस्था ‘इजरायली झापाली समाज’ ले दर्जीको उपचार र जीविकोपार्जनका लागि ३१ हजार १०५ रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका पीडित दर्जी शनिश्चरे बजारको चोकमा मेसिन राखेर कपडा सिलाउने काम गर्दै आएका थिए । सिलाईबाट परिवार चलाउदै आएका थिए । परिवारको एकमात्र कमाउने सदस्य उनी आफैँ प्यारालाइसिसले थला परेपछि अहिले उनको परिवारको बिचल्ली भएको छ । भाडाको जग्गामा सानो घर बनाएर बसिरहेका दर्जीको १३ वर्षीया छोरी समेत सुस्तश्रवण र बोली नआउने अपाङ्गताबाट पीडित छिन् । नेपाली नागरिक भए पनि नबु लावरसँग नागरिकताको प्रमाणपत्र नहुँदा उनले राज्यबाट प्राप्त हुने कुनै पनि उपचार सहुलियत, अपाङ्गता भत्ता वा अन्य राहत पाउन सकेका छैनन् । जसले गर्दा उनको परिवार थप संकटमा परेको छ ।

सन् २०१५ मा स्थापना भएको इजरायली झापाली समाजले झापाका गरिब, विपन्न र असहायहरूलाई निरन्तर मानवीय सहयोग गर्दै आएको छ । सोही अभियान अन्तर्गत समाजका संस्थापक जय वडारीको पहलमा संकलित उक्त रकम पीडितको निवासमै पुगेर हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अर्जुनधारा वडा नं. ५ का वडा अध्यक्ष गिताराज खड्काले प्रवासमा रहेर पनि आफ्नो गाउँठाउँका पीडितलाई सम्झिएर सहयोग पुर्याएकोमा समाजलाई विशेष धन्यवाद दिनुभयो । उहाँले यस्तो मानवीय कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राख्नुभयो ।







प्रतिक्रिया