Banner news

बिर्तामोडबाट सट्टाबाजीमा पक्राउ दुई जनामाथि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्ने

बिर्तामोडबाट सट्टाबाजीमा पक्राउ दुई जनामाथि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्ने


बिर्तामोड । झापाको बिर्तामोडबाट अनलाइन सट्टाबाजी (जुवा) मा संलग्न रहेको आरोपमा पक्राउ दुई जना उपर प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।

झापा प्रहरीले अवैध स्रोतको रकम प्रयोग भएको देखिएकाले उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गर्ने जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापाबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अनलाइन सट्टाबाजी सम्बन्धी कसुरमा अनुसन्धानका लागि दोस्रो पटक ५ दिन म्याद थप गरिएको छ ।

मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचेलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीले बैशाख २७ गते बिर्तामोडबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट अनलाइन सट्टाबाजीमा प्रयोग गरिने विभिन्न ब्रान्डका ५ थान स्मार्ट मोबाइल सेट र सिम कार्डहरू बरामद गरेको छ । उनीहरूले ‘रविन गुरुङ’ लगायतका नामबाट मोबाइल एपहरू प्रयोग गरी सर्वसाधारणलाई जुवा खेलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पहिलो पटक २ दिनको म्याद लिइएकोमा दोस्रो पटक ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले ती अभियुक्तहरूले ठगी गर्ने मनसायले इन्टरनेटको माध्यमबाट सर्वसाधारणलाई प्रलोभनमा पारेर ठूलो रकमको सट्टाबाजी कारोबार गरेको देखाएको छ । प्रहरीले अनलाइन सट्टाबाजी, ठगी र जुवा जस्ता कार्य गम्भीर अपराध भएको भन्दै यस्ता गतिविधिबाट बच्न र आफ्नो बैंक खाता, पिनकोड, तथा ओटीपी जस्ता गोप्य विवरणहरू कसैलाई पनि शेयर नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

शेयर गर्नुहोस :

999
Shares