झापा । गौरादह नगरपालिकाले चालू आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । नगरकार्यपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम पूर्व न्यूजÞ मिडियाको सहजीकरणमा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय बासिन्दाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास सम्बन्धी जिज्ञासा तथा गुनासा राखेका थिए । उनीहरूले कृषि कार्यक्रमको प्रभावकारी प्रसार–प्रचार नहुँदा धेरै किसान अनुदान–सुविधाबाट बञ्चित भएको, मल–बिउ तथा कृषि औजार सीमित व्यक्तिलाई मात्र वितरण भएको तथा कृषि तालिम र प्राविधिक सेवामा असमान पहुँच रहेको गुनासो व्यक्त गरे ।

त्यस्तै, स्थानीयले गौरादह पोखरी निर्माणमा देखिएको ढिलाई, सडक र नालाजस्ता पूर्वाधारका काम समयमा नहुँदा जनजीवन प्रभावित भएको तथा निर्माण सामग्रीको गुणस्तरप्रति नगरपालिकाले कडाई नगरेको प्रश्नहरु उठाए ।
जवाफमा नगर प्रमुख छत्रपति सुवेदीले कृषि सम्बन्धी सबै अनुदान कार्यक्रमहरू वडा स्तरमै सार्वजनिक सूचनामार्फत प्रचार–प्रसार हुने गरेको उल्लेख गर्दै वितरण प्रक्रियामा पारदर्शिता कायम गरिएको दाबी गरे । उनले गौरादह पोखरी निर्माण कार्य प्रदेश सरकार अन्तर्गत पर्ने भएकाले नगरपालिकाले समन्वयमात्र गर्ने बताए ।
उनले भने, “नगरपालिकाका सबै काम पारदर्शी छन् । कुनै पनि कार्यक्रममा मनोमानी हुने वातावरण छैन ।”
सुनुवाईमा नगर उपप्रमुख जलवर्षा राजवंशीले नगर क्षेत्रमा लागूऔषध दुरुपयोग गम्भीर सामाजिक समस्या बनेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय, परिवार र समुदायको साझा प्रयास आवश्यक रहेको धारणा राखिन् ।
कार्यक्रममा विभिन्न शाखा प्रमुखहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास, कृषि तथा प्रशासकीय क्षेत्रका सम्पन्न गतिविधि, चुनौती र उपलब्धिबारे विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गरे । साथै वडा तथा टोल तहबाट संकलित नागरिक प्रतिवेदन पत्र र बहिर्गमित अभिमतको नतिजा समेत सार्वजनिक गरिएको थियो । कार्यक्रम स्थानीय नागरिकको सक्रिय सहभागिता र प्रश्नोत्तरका साथ सम्पन्न भयो ।







प्रतिक्रिया