Banner news

बिर्तामोडबाट यात्रु बनेर अदालत जानेले चोरे आफै चढेका २५ वटा सिटी सफारी

बिर्तामोडबाट यात्रु बनेर अदालत जानेले चोरे आफै चढेका २५ वटा सिटी सफारी


बिर्तामोड । झापाको भद्रपुर क्षेत्रबाट लगातार सिटी सफारी चोरी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय उत्तर भागमा पार्किङ गरेर राख्ने गरिएको सिटी सफारी यात्रुले नै चोरी गर्दै आएको रहस्य सार्वजनिक भएको छ ।

बिहीवार पनि सोही स्थानबाट एउटा सिटी सफारी हराएको थियो । हिजो हराएको सिटी खोजी गर्दै जाँदा चालकहरुले केही महिनादेखि २५ वटा भन्दा धेरै चोरी भइसकेको थप जानकारी प्राप्त गरेका छन् ।

एकै स्थानबाट लगातार सिटी सफारी हराउन थालेपछि चालकहरुले सुक्ष्म खोजी सुरु गरेका थिए । बिहीवार भद्रपुरमा हराएको सिटी बिर्तामोडको धर्मकाटा रोडमा अर्को सिटीले डोरी लगाएर तानिरहेको अवस्थामा फेला परेको थियो । यस्तै, केही दिनअघि सोही स्थानबाट हराएको सिटी आज बसपार्क क्षेत्रमा अलपत्र अवस्थामा फेला परेको छ ।

बिर्तामोडका सिटी व्यवसायी एमडी माइलाले एकै प्रकृतिबाट सिटी सफारी चोरी भएपछि खोजी सुरु गरिएको जानकारी दिए । उनका अनुसार आज पनि सोही स्थानबाट चोरी गर्दागर्दै एक जनालाई भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । चोरी गर्नेको पहिचान खुलाइएको छैन ।

चालकहरुले बताए अनुसार बिर्तामोडबाट जिल्ला अदालतमा मान्छे लिन जानुपर्ने भन्दै ९ सय, हजार रुपैयाँ भाडामा सिटी सफारी लैजाने गरेको खुलेको छ । घटना विवरण अनुसार अदालतबाट मान्छे लिएर आउनुपर्ने भन्दै बिर्तामोडबाट सिटी लैजाने गरेको थियो । त्यहाँ पुगेपछि चालकलाई अल्मल्याएर सिटी चोरी गर्ने गरेको माइलाको भनाई छ ।

सिटी पार्किङ गराएर चालकलाई पनि अदालत लिएर जाँदा रहेछन्, उनले भने – चालकलाई भित्र मान्छे छ, चिया खाँदै बसौं भन्दा रहेछन् । चिया खाँदाखाँदै पिसाव गरेर आउँछु वा भित्र मान्छे लिएर आउछु भनेर हिडेपछि सिटी भएको ठाउँ पुगेर चोरी गर्दा रहेछन् । चालकलाई भित्र अल्मल्याउने र अर्को बाटो घुमेर सिटी चोरी गर्ने गरेको खुलेको छ ।

चोरीपछि फेला परेका सिटीमा ब्याट्री नभेटिएको बताइएको छ । बिर्तामोडबाट दर्जनौं सिटी हराइसकेपछि व्यवसायीहरुले चनाखोसाथ खोजी सुरु गरेका थिए ।

शेयर गर्नुहोस :

3.9k
Shares