Banner news

झापामा थुनुवा बोक्ने गाडिको अभाव

झापामा थुनुवा बोक्ने गाडिको अभाव


बिर्तामोड । झापामा थुनुवा बोक्ने गाडि अभावले प्रहरीलाई समस्या भएको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि हालसम्म झापामा प्रहरीले उक्त प्रकृतिका गाडि प्राप्त गर्न सकेको छैन ।

जेनजी आन्दोलनमा ७ वटा चारचक्के, २ वटा थुनुवा बोक्ने वानटन गाडि र दर्जनौं मोटरसाइकलहरु जलाइएको थियो । इलाका प्रहरी कार्यालय अनारमनी र दमकमा रहेको थुनुवा बोक्ने दुवै गाडि जेनजी आन्दोलनमा जलाएको थियो । अहिले प्रहरीले साना गाडिमा थुनुवा बोक्ने काम गरिरहेको छ । प्रहरीले म्याद थपका लागि दैनिक थुनुवालाई झापा जिल्ला अदालत लैजानुपर्छ ।

झापाका प्रहरी प्रवक्ता खड्ग बहादुर खड्काले प्रहरीको सानो गाडिमा म्याद थपका लागि थुनुवाहरुलाई अदालत पुराउने गरेको जानकारी दिए । वानटन गाडिमा जस्तो धेरै अटाउन नसकेको अवस्थामा पटक–पटक ओसार्ने काम गर्नुपर्छ । उनले जिल्लामा क्षति भएका कार्यालयमा लगभग गाडिको व्यवस्था गरिए पनि थुनुवा बोक्ने गाडिहरुको व्यवस्थापन हुन नसकेको जानकारी दिए । साना गाडिमा नै काम चलाइरहेका छौं, उनले भने, अब विशेष प्रकारको (प्रिजनर भ्यान) गाडि झापामा माग गरिएको छ । उक्त गाडिमा गौरीगञ्जदेखि दमक, झिलझिले, बिर्तामोड हुँदै एउटै गाडिमा थुनुवाहरु अदालत लैजान सकिन्छ । पहिले २ वटा वानटन थियो, अब एउटै गाडिले काम गर्न सकिने छ, प्रवक्ता खड्काले भने ।

कनकाईले फिर्ता लग्यो गाडि
कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङालाई तत्काल प्रयोगका लागि दिएको गाडि फिर्ता लिएको छ । सम्झौता अनुसार २०८३ बैशाख मसान्तसम्मका लागि प्रहरीलाई नगरपालिकाले गाडि उपलब्ध गराएको थियो ।
जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडि जलाएपछि नगरपालिकाले दोस्रो पटक गाडि उपलब्ध गराएको थियो । पालिकाले आठौं कार्यपालिका बैठक बसेर बैशाखसम्मका लागि उपलब्ध गराएको गाडि अठारौं बैठकले फिर्ता लिने निर्ण गरेको थियो ।

इप्रकाको गाडिमा क्षति पुगेपछि तत्काललाई सुरक्षा व्यवस्थामा सहयोग गर्न उपलब्ध गराइएको गाडि फिर्ता लिएको प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिए । उनका अनुसार प्रहरीलाई यसअघि पनि गाडि उपलब्ध गराइएको थियो । जेनजी आन्दोलनपछि उपमेयरले प्रयोग गर्दै आएको गाडि उपलब्ध गराइएको हो । प्रहरीले गाडि व्यवस्थापन गर्छ भन्ने थियो, न्यौपानेले भने – अहिले नगरपालिकालाई नै आवश्यक भए पछि फिर्ता लिएका हौं । उनले योजना अनुगमन लगायतका काममा गाडिको आवश्यक भएकोले सम्झौता बमोजिम नै फिर्ता गरिएको जानकारी दिए । नगरपालिकाले नयाँ गाडि किन्न सक्दैन, भाडामा कुदाउने कुरै भएन, उनले थपे – त्यसैले आफ्नै गाडि ल्याएका हौं ।

शेयर गर्नुहोस :

324
Shares