शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित श्री लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमले दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।
गत वैशाख ११ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण महोत्सवको आय–व्यय विवरण मन्दिर परिसरमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । महोत्सवमा कुल ३ करोड ३२ लाख ३८ हजार ९५६ रुपैयाँ बराबरको आय–व्यय रहेको आश्रमका सचिव हरिनारायण बाँस्कोटाले बनाउनु भयो । उहाँका अनुसार हाल संस्थाको बैंक मौज्दातमा ७० लाख रुपैयाँ तथा नगद मौज्दातमा ४९ हजार ८२६ रुपैयाँ रहेको छ ।

जसमा कोशी प्रदेश सरकारबाट ९ लाख रुपैयाँ, शिवसताक्षी नगरपालिकाबाट २ लाख रुपैयाँ तथा दिनेश मित्तलबाट ५ लाख ५५ हजार रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ । आय–व्यय सार्वजनिक कार्यक्रममा सचिव बाँस्कोटाले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, देश तथा विदेशबाट सहभागी गुरुजन, विद्वान, भक्तजन, विभिन्न संघ–संस्था तथा सहयोगीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, नेपाल रेडक्रस, स्थानीय वडाहरू, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै, आश्रमका वरिष्ठ उपााध्यक्ष हरिप्रसाद तिम्सिनाले दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण महोत्सवमार्फत लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमलाई विश्वसामु परिचित गराउन सफल भएको बताउनुभयो । उहाँले यो उपलब्धि केवल शिवसताक्षी नगरको मात्र नभई सम्पूर्ण नेपालकै गौरवको विषय बनेको उल्लेख गर्नुभयो ।
“यो सानो उपलब्धि होइन, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा यस महोत्सवले महत्वपूर्ण योगदान पु¥याएको छ,” उहाँले भन्नुभयो । यसैबीच, लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमको मूल समितिले दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण महोत्सव सम्पन्न गर्न गठन गरिएको मूल आयोजक समिति विघटन गरिएको जानकारी दिएको छ ।







प्रतिक्रिया