बिर्तामोड । झापामा सुकुम्बासी समस्या र जनताको बहुदलीय जनवाद विषयक अन्तरक्रिया सम्पन्न भएको छ । ३३ औं मदन–आश्रित स्मृति दिवसमा आइतवार आयोजित कार्यक्रममा सुकुम्बासीका समस्या र समाधानका उपायबारे छलफल भएको थियो ।
मदन भण्डारी फाउण्डेशन झापाको आयोजनामा भएको अन्तरक्रियामा वरिष्ठ अधिवक्ता टंक उप्रेती, फाउण्डेशनका तर्फबाट शिव ढुङगेल र गणेश पोखरेलले संयुक्त रुपमा तयार गरेको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सो कार्यपत्रमाथि वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य र नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले टिप्पणी गरेका थिए । कार्यपत्रमा सुकुम्बासी समस्या र समाधानको उपाय समेटिएको थियो ।
नेकपा एमाले झापाको कार्यालय बिर्तामोडमा भएको अन्तरक्रिया भूमिहीन सुकुम्बासीको पक्षमा जनताको बहुदलीय जनवादले के भन्छ ?, र नेकपा एमालेले अब के गर्नुपर्छ भन्नेमा केन्द्रीत थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीले सुकुम्बासीमाथि वर्तमान सरकारले अमानवीय व्यवहार प्रस्तुत गरेका बताए । उनले नेकपा एमाले गरिव, भूमिहीन तथा सुकुम्बासीहरुको पक्षमा रहेको स्पष्ट पार्दै डोजर आतंक प्रतिवाद गर्न सूझाव दिए । नेता ओलीले सुकुम्बासीहरुलाई उठिवास लगाउने बालेन सरकारको योजना विफल बनाउन सबैलाई एकतावद्ध हुन आग्रह गरेका छन् ।
मदन भण्डारी फाउण्डेशनका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।







प्रतिक्रिया