खेल

बिर्तामोडमा प्रथम उपमेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

बिर्तामोडमा प्रथम उपमेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता सुरु


बिर्तामोड । झापाको बिर्तामोडमा राष्ट्रिय खेल भलिबलप्रति आकर्षण वृद्धि गर्न ‘प्रथम उप–मेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता २०८३ (पुरुष)’ भव्य रूपमा सुरु भएको छ । स्थानीय तहका युवाहरूमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सुरु भएको हो ।

बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिको आयोजना तथा बिर्तामोड नगरपािलकाको सहआयोजनामा गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक वडासहित नगरभित्रका १० वटा वडाको सहभागिता रहने छ ।

बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पानसमा दीप प्रज्वलन गर्दै तथा रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो । बिर्तामोड वडा नम्बर ९ खेलकुद विकास समितिका अध्यक्ष विश्वदिप राजवंशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर कार्यपालिका सदस्य संगिता सिवाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगिताका विजेता टोलीले नगद १ लाख १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५१ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूले पनि नगद र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामार्फत नगरभित्र रहेका खेल प्रतिभाहरूको पहिचान र प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको पहिलो दिन उत्साहजनक रूपमा ६ वटा खेलहरू सम्पन्न भएका छन् । वडा नम्बर ३, ५, ६ र ८ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । उद्घाटन खेलमा आयोजक वडा नम्बर ९ ले वडा नम्बर १० लाई पराजित गर्दै विजयी सुरुआत गरेको थियो । उक्त खेलमा वडा नम्बर ९ का प्रविन तामाङ ‘प्लेयर अफ दि म्याच’ घोषित भए । जसलाई वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङले नगद १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसैगरी वडा नम्बर १ र वडा नम्बर २ बीच भएको खेलमा वडा नम्बर २ विजयी बन्यो र सो खेलमा वडा नम्बर २ का सुवास टुडु ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कङदङवा तथा नगर खेलकुद विकास समितिका उपाध्यक्ष सुरेन्द्र गुरुङले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नुभयो ।

त्यसपछिका खेलहरूबाट सेमिफाइनल समीकरण पूरा भएको हो । वडा नम्बर ३ र वडा नम्बर ४ बीचको प्रतिस्पर्धामा विमान खड्का, अभिषेक कामती, भरत यादव र धुर्व भण्डारी जस्ता अनुभवी खेलाडीहरू सम्मिलित बिर्तामोड ३ ले २५–१७ र २५–१६ को सोझो सेटमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय ग¥यो । यस खेलमा सविन थापा ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई सामाजिक व्यक्तित्व तथा डिडिसी सेक्युरिटीका सञ्चालक खगेन्द्रराज आङदाम्बेले पुरस्कार प्रदान गर्नुभयो ।
यस्तै, वडा नम्बर ५ र वडा नम्बर ७ बीचको खेलमा रबिन गौतम, प्रदिप कटेल र फणिन्द्र सिग्देल जस्ता अनुभवी खेलाडी समावेश भएको वडा नम्बर ५ ले २५–१७ र २५–२२ को सोझो सेटमा जित निकाल्यो । खेलमा फणिन्द्र सिग्देल ‘प्लेयर अफ दि म्याच’ घोषित भए, जसलाई प्रमुख अतिथि उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पुरस्कार प्रदान गर्नुभयो ।

सेमिफाइनल प्रवेशका लागि भएको अर्को प्रतिस्पर्धामा स्थानीय तथा उत्कृष्ट खेलाडीहरू सहभागी भएको वडा नम्बर ८ ले वडा नम्बर ९ लाई २५–१६ र २५–२० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । उक्त खेलमा सन्दिप गौतम ‘प्लेयर अफ दि म्याच’ घोषित भए । आजै भएको अन्तिम क्वाटरफाइनल खेलमा कोशी प्रदेशको प्रतिनिधित्व गरिसकेका खेलाडी लिला डाँगी लगायत सम्मिलित वडा नम्बर ६ ले वडा नम्बर २ लाई २५–२२ र २५–२२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय ग¥यो । सो खेलमा लिला डाँगी उत्कृष्ट खेलाडी घोषित भए ।

आयोजक समितिका अध्यक्ष विश्वदीप राजवंशीका अनुसार प्रतियोगिता अन्तर्गत भोलि दुई सेमिफाइनल र फाइनल खेल सञ्चालन हुनेछन् । भोलि हुने पहिलो सेमिफाइनल खेल उपाधि दाबेदार मानिएको वडा नम्बर ३ र वडा नम्बर ८ का बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल वडा नम्बर ६ र अर्को उपाधि दाबेदार वडा नम्बर ५ बीच सञ्चालन हुनेछ । दुवै टिममा उत्कृष्ट खेलाडीहरू सहभागी भएका कारण सेमिफाइनल खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

उद्घाटन कार्यक्रममा विभिन्न जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, खेलकुदकर्मी, सञ्चारकर्मी तथा स्थानीय खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कङदङवा, वडा नम्बर ७ का वडाध्यक्ष कृष्ण अविरल खरेल, वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईं, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, वडा नम्बर २ का वडाध्यक्ष किशोरप्रसाद पौडेल, वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईँ लगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

675
Shares