बिर्तामोड । पूर्वसभामुख देवराज घिमिरेले वर्तमान सरकारले सुकुम्बासीहरुलाई झुक्याउने काम गरिरहेको बताउनुभयो । मंगलवार विहान बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै सुकुम्बासीहरुलाई विभिन्न आशा र बहानामा झुक्याइरहेको बताउनु भएको छ ।

उहाँले सुकुम्बासीमाथि सरकारले ज्यादती गरिरहेकोले रोक्नुपर्ने बताउनुभयो । चाइना फाउण्डेशको कार्यक्रममा सहभागी हुन झापा आउनु भएका पूर्वसभामुख घिमिरेले सुकुम्बासीहरुमाथिको ज्यादती रोक्न सबै क्षेत्रले आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पछिल्ला घटनाहरुले सरकार अघोषित निरंकुशता तर्फ अघि बढिरहेको बताउनुभयो । सुकुम्बासी समस्या समाधानका अनेकौं प्रक्रियाहरु पूरा गरेर मात्रै अघि बढ्नुपर्ने सरकारले अमानवीय हिसावले डोजर चलाएको प्रतिक्रिया दिनुभयो ।
पूर्वसभामुख घिमिरेले संसदभित्र जनताका प्रतिनिधिहरुले जनताको कुरा राख्न नपाइरहेको बताउनुभएको छ । उहाँले संसद नियन्त्रित रहेको संकेत गर्दै सभामुख डिपी अर्यालले निष्पक्षता कायम गर्न नसकेको स्पष्ट पार्नुभयो । नीति र विधिभन्दा पनि सभामुख अर्याल रास्वपाको आवश्यकता बमोजिम अघि बढेको उहाँको आरोप छ । संसदभित्र प्रधानमन्त्रीलाई बोलाउन सक्ने अधिकार सभामुखलाई भए पनि उहाँले चासो नदिएको घिमिरेको भनाई छ । प्रधानमन्त्री बालेन्द्र शाह पनि संसद र संविधानप्रति जिम्मेवार रुपमा प्रस्तुत नभएको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले संसदलाई नै जिम्मेवार बनाउन भूमिका निर्वाह गर्नुपर्छ, उहाँले भन्नुभयो, तर प्रधानमन्त्री आफै संसदप्रति जिम्मेवार देखिएनन् ।







प्रतिक्रिया