बिर्तामोड । प्रशासनिक क्षेत्रमा झापाले उत्कृष्ट नतिजा हासिल गनै सफल भएको छ । लोक सेवा आयोगद्वारा गत वर्ष प्रकाशित राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तहको विज्ञापनमा झापालीहरुले उत्कृष्ट नतिजा हासिल गरेका हुन् ।
लोक सेवा आयोगद्वारा गत वर्ष प्रकाशित राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तहको विज्ञापन अन्तर्गत आन्तरिक प्रतियोगिता तर्फ भद्रपुरका डा. डिजन भट्टराई तथा खुला प्रतियोगिता तर्फ झापा गौरीगञ्जका विजयकुमार शर्मा पहिलो योग्यताक्रममा सिफारिस हुनुभएको छ ।

यसैगरी झापाको कमल गाउँपालिकाका तीर्थराज राई समेत आन्तरिक प्रतियोगिता तर्फबाट प्रशासन सेवाको सहसचिव पदमा सिफारिस हुनुभएको छ ।
यसैगरी उपसचिव पदमा परराष्ट्र सेवाको खुला तर्फ पहिलो नम्बरमै भद्रपुरकी गंगा सुन्दास सफल हुनुभएको छ भने खुला प्रतियोगितात्मक परीक्षाबाट प्रशासन समुह तर्फ झापा अर्जुनधाराका पर्वत गिरी र राजश्व समुह तर्फ झापाकै खगेन्द्र बर्देवाले समेत लोक सेवा आयोगको परीक्षामा सफल भई सिफारिस हुनुभएको छ ।
निजामती सेवामा अत्यन्तै प्रतिस्पर्धात्मक मानिने यी उच्च तहका पदमा उत्कृष्ट नतिजाका साथ एकैपटक धेरै संख्यामा सिफारिस भएको सम्भवत यो झापा जिल्लाको इतिहासमै पहिलो सफलता मानिएको छ । लोक सेवा आयोगले प्रकाशित गरेको पछिल्लो एक वर्षको यी नतिजासँगै झापा जिल्लाले प्रशासनिक क्षेत्रको उच्च तहमा समेत उत्कृष्टताका साथ आफ्नो उपस्थिति जनाउन सफल भएको हो ।







प्रतिक्रिया