झापा । झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
अर्जुनधारा नगरपालिका वडा नं. ८ कुशलचोकस्थित एम्स सेकेन्डरी बोर्डिङ स्कुलको पश्चिम तर्फ रहेको खुल्ला चौरमा भएको विवादका क्रममा चोट लागेर घाइते भएकी स्थानीय २९ वर्षीया काजल बस्नेत सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो । मृतकका श्रीमान् हाल वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् । प्रहरीका अनुसार गत जेठ ४ गते राति करिब सवा ९ बजेको समयमा अर्जुनधारा–५ कञ्चनबाडी बस्ने २४ वर्षीय किरण गौतम र मृतक काजल बस्नेतले अत्यधिक मदिरा सेवन गरेका थिए ।
सोही क्रममा उनीहरूबीच विवाद हुँदा अभियुक्त किरण गौतमले काजललाई धकेलिदिएका थिए । धकेल्ने क्रममा चौरको बीचमा सिमानाका लागि बनाइएको कन्क्रिटको प्लममा ठोक्किन पुग्दा काजलको टाउकोमा गम्भीर चोट लागेको थियो । बेहोस अवस्थामा फेला परेकी उनलाई स्थानीयले तत्काल उपचारका लागि स्थानीय शंकर अस्पताल पठाएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएकोमा उपचारकै क्रममा मंगलबार बिहान ४ः४० बजे उनको मृत्यु भएको हो ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अभियुक्त किरण गौतमलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । मृतककी दिदी प्रतिमा भट्टराईले दिएको जाहेरीका आधारमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका गौतमलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत झापामा उपस्थित गराइएको छ । अदालतबाट पहिलो पटकका लागि ५ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया