Banner news

मेची रङ्गशालामा फ्लडलाइट जडानका लागि त्रिपक्षीय सम्झौता

मेची रङ्गशालामा फ्लडलाइट जडानका लागि त्रिपक्षीय सम्झौता


भद्रपुर –  झापाको भद्रपुरस्थित मेची रङ्गशालामा रात्रिकालीन बत्ती (फ्लडलाइट) जडान गर्न कोशी प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, भद्रपुर नगरपालिका र जिल्ला खेलकुद विकास समितिबीच औपचारिक रूपमा त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।
कोशी प्रदेश सरकारको विशेष परियोजना अन्तर्गत यो बजेट कार्यान्वयनको प्रक्रिया अघि बढेको हो। सम्झौता सम्पन्न भएसँगै अब रङ्गशालामा लाइट जडानका लागि ठेक्का प्रक्रिया सुरु हुनेछ।’भद्रपुर झापा गोल्डकप’ को भव्य सफलतालाई मुख्य आधार मान्दै मेची रङ्गशालालाई थप उत्कृष्ट र आधुनिक बनाउन यो योजना अघि सारिएको हो। फ्लडलाइट जडान भएपछि रङ्गशालामा रात्रिकालीन समयमा पनि विभिन्न खेलकुद प्रतियोगिताहरू सहजै सञ्चालन गर्न सकिनेछ, जसले यस क्षेत्रको खेलकुद विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
उक्त महत्त्वपूर्ण सम्झौता कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय चिन्तन पाठक, मन्त्रालयका सचिव तथा मन्त्रालयको प्राविधिक टोलीको उपस्थिति रहेको थियो।यस्तै, भद्रपुर नगरपालिकाका प्रमुख (मेयर) गणेश पोखरेलसहित जनप्रतिनिधिहरूको टोली, पूर्व सांसद बसन्त बानिया, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उपाध्यक्ष मनोज सुब्बा, भद्रपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गाना, नितेश बर्मा, टिकाराज ढकाल लगायत खेलकुद पदाधिकारी तथा स्थानीय नेतृत्वको सहभागिता रहेको थियो।

शेयर गर्नुहोस :

108
Shares