Banner news

एसईईमा ग्यालेक्सी इङ्लिस स्कुल भद्रपुरकै सर्वोत्कृष्ट, विद्यार्थी सम्मानित

एसईईमा ग्यालेक्सी इङ्लिस स्कुल भद्रपुरकै सर्वोत्कृष्ट, विद्यार्थी सम्मानित


भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ मा सञ्चालित ग्यालेक्सी इङ्लिस स्कुल यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट जीपीए हासिल गर्दै भद्रपुर नगरपालिकाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।

विगतदेखि नै निरन्तर शैक्षिक गुणस्तर, कडा अनुशासन र आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राख्दै आएको विद्यालयको यस प्रयासलाई यस वर्षको सुखद नतिजाले पुनः प्रमाणित गरिदिएको हो । यसै ऐतिहासिक सफलताको उपलक्ष्यमा विद्यालयले आज एक विशेष पत्रकार सम्मेलन तथा बधाई ज्ञापन कार्यक्रमको आयोजना गरी उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई भव्य रुपमा सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रौनक वंशलको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा भद्रपुर नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पवित्रा ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

यस वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी भएका कुल २३ जना विद्यार्थी नै उत्कृष्ट श्रेणीमा उत्तीर्ण भई शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् । विद्यालयका शैक्षिक कोअर्डिनेटर लक्ष्मण नेपालका अनुसार उत्तीर्ण विद्यार्थीहरूमध्ये ८ जनाले उत्कृष्ट ‘ए प्लस’ ग्रेड, १४ जनाले ‘ए’ ग्रेड र १ जनाले ‘बी प्लस’ ग्रेड हासिल गरेका छन् ।

उत्कृष्ट ग्रेड ल्याउन सफल सबै विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि पवित्रा ढकाल, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने र अध्यक्ष रोनक वंशल लगायतले संयुक्त रूपमा जनही नगद २५ सय रुपैयाँ, खादा, माला र सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले ग्यालेक्सी स्कुलले नगरकै उत्कृष्ट जीपीए सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएर भद्रपुर नगरकै गौरव बढाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले शतप्रतिशत र उत्कृष्ट नतिजा ल्याउनु जति गौरवको कुरा हो, त्यस ऐतिहासिक साखलाई आगामी दिनमा पनि सदैव कायम राख्नु त्यत्तिकै चुनौतीपूर्ण रहने उल्लेख गर्दै ग्यालेक्सी स्कुलले आगामी दिनमा पनि यो गरिमालाई जोगाइराख्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताउनुभयो ।

यसअघि पनि विद्यालयले वि.सं. २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा भद्रपुर नगरपालिकास्तरमा उत्कृष्ट नतिजा हासिल गरेको थियो भने कक्षा ५ र कक्षा ८ को नगरपालिका स्तरीय परीक्षामा समेत निरन्तर सर्वोत्कृष्ट उपलब्धि हासिल गर्दै आएको छ ।

वि.सं. २०६९ सालदेखि भद्रपुर नगरपालिका वडा नम्बर ८ को सगरमाथा क्षेत्रबाट सञ्चालन प्रारम्भ भएको यस विद्यालयले वि.सं. २०७३ देखि भद्रपुर–९ मा करिब ७ विघाको विशाल क्षेत्रफलमा फैलिएको फराकिलो र शान्त वातावरणमा आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधार सहित अध्यापन गराउँदै आएको छ ।

विद्यालयका प्रिन्सिपल देवीप्रसाद सुवेदीका अनुसार विद्यार्थीहरूको चौतर्फी र आधुनिक विकासका लागि विद्यालयमा वातानुकूलित सुविधायुक्त स्मार्ट कक्षाकोठाहरू, पूर्ण प्रविधिमैत्री शिक्षण प्रणाली र डिजिटल सिकाई, खेलकुद, संगीत, कला र विविध अतिरिक्त क्रियाकलापहरूको व्यवस्था गरिएको छ ।

प्रिन्सिपल सुवेदीले विद्यालयको शिक्षण दर्शनबारे थप प्रष्ट पार्दै आफूहरूले बालमैत्री र प्रविधिमैत्री शिक्षण सिकााइसँगै ’संस्कारसहितको शिक्षा’ मा विशेष जोड दिएको बताउनुभयो। विद्यार्थीहरूको भविष्य उज्ज्वल र आधुनिक समय अनुकूल बनाउनका लागि विद्यालय परिवार व्यावहारिक र रोजगारीमुखी शिक्षण सिकाइमा निरन्तर लागिपरेको उहाँको भनाइ थियो। विद्यालयकै शिक्षकद्वारा कुशलतापूर्वक सञ्चालन गरिएको उक्त गरिमामय कार्यक्रममा स्थानीय शिक्षासेवी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

243
Shares