झापा । झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमन गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर, बिर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाको संयुक्त आयोजनामा बिहीबार बजार अनुगमन गरिएको हो ।
उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले नियमित रूपमा बजार अनुगमन अभियान सञ्चालन गरिएको जनाइएको छ । अनुगमनका क्रममा अधिकांश मासु पसलहरूले विगत वर्षको तुलनामा सुधार गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अघिल्लो वर्ष दिएको सुझाव र निर्देशनअनुसार धेरै पसलहरुले सरसफाई, भण्डारण तथा बिक्री व्यवस्थापनमा सुधार ल्याएको पाइएको हो । यद्यपि केही पसलले अझै पनि मापदण्ड विपरीत अखाद्य मासु बिक्री वितरण गरिरहेको भेटिएको छ ।

अनुगमनका क्रममा बिर्तामोड कृषि थोक बजार क्षेत्रबाट ३५ केजी कुखुराको मासु र बिर्ताबजार क्षेत्रबाट ८ केजी राँगाको मासु गरी कुल ४३ केजी सडेगलेको तथा अखाद्य मासु जफत गरिएको थियो । जफत गरिएको मासु बिर्तामोड नगर प्रहरीको सहयोगमा नष्ट गरिएको छ । अनुगमन टोलीका अनुसार गत आर्थिक वर्षमा गरिएको बजार अनुगमनका क्रममा अखाद्य अवस्थामा रहेका माछासमेत जफत गरिएको थियो । तर यस वर्षको अनुगमनमा भने माछामा त्यस्तो समस्या नदेखिएको बताइएको छ । यसलाई व्यवसायीमा बढ्दो सचेतनाको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
अनुगमन टोलीको नेतृत्व बिर्तामोड नगरपालिकाका कार्यबाहक नगरप्रमुख नगेन्द्र प्रसाद संग्रौला तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका कार्यालय प्रमुख शीतल भट्टराईले गर्नुभएको थियो ।
अनुगमनमा भेटेरिनरी निरीक्षक तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका पशु विकास अधिकृत डा. बिर्खराज राई, सहायक मत्स्य विकास अधिकृत उदयनारायण यादव, पशु सेवा प्राविधिक धिरेन राई, प्रशासन शाखा प्रमुख वशिष्ठ अधिकारी तथा सहायक लेखा अधिकृत भिष्म रिजाल सहभागी हुनुहुन्थ्यो । त्यसैगरी अनुगमनमा विर्तामोड नगरपालिका आर्थिक विकास समितिका संयोजक संगिता सिवा, बिर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख डा. नगेन्द्र खड्का, शाखा अधिकृत सावित्रा दाहाल, जिल्ला प्रशासन कार्यालय झापाका विश्वराज थापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाकी प्राविधिक सहायक संगिता शाह तथा इलाका प्रहरी कार्यालय अनारमनीका इन्स्पेक्टर रुपेश राईसहितको प्रहरी टोलीको समेत सहभागिता रहेको थियो ।
अनुगमन टोलीले मासु व्यवसायीलाई सरसफाई, स्वास्थ्य मापदण्ड तथा खाद्य सुरक्षासम्बन्धी नियम पालना गर्न निर्देशन दिएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले अखाद्य तथा अस्वस्थकर सामग्री बिक्री वितरण गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ । कार्यबाहक नगरप्रमुख संग्रौलाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।
उहाँले व्यवसायीलाई जिम्मेवार र सचेत बन्न आग्रह गर्दै स्वस्थ खाद्य संस्कृतिको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । बजार अनुगमन कार्यक्रमले व्यवसायीलाई जिम्मेवार बनाउनुका साथै उपभोक्तामा पनि खाद्य सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास गरिएको छ ।







प्रतिक्रिया