खेल

अर्जुनधारा ११ क्वाटरफाइनलमा

अर्जुनधारा ११ क्वाटरफाइनलमा


झापा । अर्जुनधारामा जारी वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताअन्तर्गत वडा नम्बर ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा वडा नम्बर १० लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ११ अन्तिम आठमा पुगेको हो ।

अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा सम्पन्न खेलमा वडा नं. ११ का लागि रोहन राईले २६औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको वडा नम्बर १० ले दोस्रो हाफमा पुनरागमन गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।

खेलको ५३औं मिनेटमा वडा नम्बर १० को गोलपोस्टमा अनगोल भएपछि वडा नम्बर ११ ले २–० को सहज जित हात पार्यो ।

उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ११ का खेलाडी प्रदीप प्रधान ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल र वडा नम्बर ११ का वडाध्यक्ष खगेन्द्र इङनामले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत भोलि वडा नम्बर २ र वडा नम्बर ६ बीच प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य–सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रतियोगितामा अर्जुनधाराका ११ वटै वडाले प्रतिस्पर्धा गर्ने छ । वडा स्तरमा खेलाडी उत्पादन र नगर स्तरीय टिम निर्माणका लागि खेलाडी छनोट गर्ने उदेश्यसहित आयोजित प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँसहित आकर्षक ट्रफि पुरस्कार प्राप्त गर्ने समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।

अर्जुनधारा–९ स्थित गोलधाप युवा क्लब सहआयोजक रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने जनाइएको छ ।

शेयर गर्नुहोस :

189
Shares