Banner news

डम्पिङ साइडको विवादले उठेन बिर्तामोडको फोहोर

डम्पिङ साइडको विवादले उठेन बिर्तामोडको फोहोर

oppo_34

बिर्तामोड । झापाको बिर्तामोडमा फोहोर उठाउने गाडि नआएपछि नगरबासी समस्यामा परेका छन् । एक हप्तादेखि फोहोर उठाउने गाडि नआएपछि व्यवस्थापनमा कठिनाई भइरहेको जनाइएको छ ।

बिर्तामोड नगरपालिका क्षेत्रमा फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको निराकार सरसफाई प्रा.लि.ले डम्पिङ साइडमा उत्पन्न विवादका कारण समस्या भइरहेको जनाएको छ । सो विवादका कारण एक हप्तादेखि फोहोर उठाउन नसकेको निराकारले स्वीकार गरेको छ । फोहोर व्यवस्थापनको ठेक्का पाएको निराकारले समस्या हुनासाथ नगरपालिका देखाएर पन्सिदै आएको छ । नगरबासीसँग मासिक लाखौं रुपैयाँ संकलन गर्दै आएको निराकारले फोहोर व्यवस्थापनमा आउने समस्या समाधानको खोजीमा पछि हट्ने गरेको छ ।

oppo_34

नगरपालिकाले बिर्तामोड – ६ बुट्टाबारी पूर्वमा नगरभित्रको फोहोर व्यवस्थापन गर्दै आएको थियो । निराकारले नगरपालिकाले डम्पिङ साइडमा उत्पन्न विवाद समाधान गरेपछि फोहोर उठाउन थालिने जनाएको छ । फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनी निराकारले नगरबासीलाई फोहोर संकलनको ब्याग, थैलीको आकार बढाउन आव्हान गरेको छ । निराकारले देउनिया खोला किनारमा फोहोर फाल्दै आएको थियो ।

बिर्तामोड – ६ स्थित मसले टोल क्षेत्रमा फोहोर व्यवस्थापन भइरहेकोमा स्थानीयबासीले विकल्प खोजी गर्न नगरपालिकालाई आग्रह गरेका छन् । नगरपालिकालाई पूर्व जानकारी नदिई स्थानीयले अकास्मात फोहोरको गाडि रोकेपछि निराकारले फोहोर उठाउन छोडेको हो ।

मसले टोल विकास संस्थाका अध्यक्ष देवी नेपालले फोहोरका कारण स्थानीयबासी समस्यामा परेको बताए । उनका अनुसार नगरपालिकालाई अन्यत्र फोहोर व्यवस्थापनका लागि आग्रह गरिएको छ । फोहोर व्यवस्थापनका लागि सो वडामा लाखौं रुपैंया नगरपालिकाले लगानी गरिसकेको छ । दुई वर्षदेखि लगानी गरिरहेको नगरपालिकालाई विकल्प खोज्न भन्दै स्थानीयले फोहोरको गाडि रोकेका हुन् । स्थानीयबासीको माग बमोजिम नगरपालिकाले लगानी गरेपछि सो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न दिइएको थियो ।

अहिले सोही क्षेत्रका बासिन्दाले निश्चित समय तोकेर व्यवस्थापन गर्न दिने र त्यसपछि अर्को विकल्पमा जानुपर्ने अडान राखेका छन् । यता, नगरपालिका विना जानकारी गाडि रोकेपछि अर्को विकल्पमा तत्कालै जान सकिरहेको छैन ।
टोलका अध्यक्ष नेपालले निराकारले अव्यवस्थित रुपमा फोहोर फाल्ने गरेको बताएका छन् । देउनिया खोलामा फोहोर बग्छ, पानीको निकास थुनिएको छ, उनले भने – यो दुवै समस्या समाधान गर्ने सर्तमा मात्रै निश्चित समयका लागि व्यवस्थापन गर्न दिन्छौं । त्यसपछि यहाँ फोहोर फाल्न दिइने छैन । उनले तटबन्ध गरेर फोहोर छोप्नुपर्ने र थुनिएका पानीका निकास खोल्नुपर्ने बताएका छन् ।

बिर्तामोड नगरपालिकाका कार्यबहाक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले फोहोर व्यवस्थापनका लागि प्रयास जारी रहेको बताएका छन् । उनले फोहोर व्यवस्थापनका लागि विभिन्न विकल्पहरुमा पहल भइरहेको जानकारी दिए ।

शेयर गर्नुहोस :

486
Shares