झापा । अर्जुनधारामा जारी वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा वडा नम्बर २ विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा वडा नम्बर ६ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर २ अन्तिम आठमा पुगेको हो ।

अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा सम्पन्न खेलमा वडा नम्बर २ का लागि पविन्द्र सेन्चुरीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । उनले खेलको २५औं मिनेटमा गोल गरेका थिए । वडा नम्बर ६ ले दोस्रो हाफमा पुनरागमन गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।
उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर २ का खेलाडी पविन्द्र सेन्चुरी ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, वडा नम्बर १ का वडाध्यक्ष उपेन्द्र बानियाँ तथा गोलधाप युवा क्लबका अध्यक्ष सुरेन राईले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताअन्तर्गत भोलि वडा नम्बर ३ र वडा नम्बर ८ बीच प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य–सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतियोगितामा अर्जुनधाराका ११ वटै वडाको सहभागिता रहेको छ । वडा स्तरमा खेलाडी उत्पादन तथा नगर स्तरीय टिम निर्माणका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्ने समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
अर्जुनधारा–९ स्थित गोलधाप युवा क्लब सहआयोजक रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने जनाइएको छ ।







प्रतिक्रिया