मुख्य समाचार

बेवारिसे कपडा बिर्तामोडबाट बरामद

बेवारिसे कपडा बिर्तामोडबाट बरामद


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाबाट प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका ठुलो परिमाणका कपडाहरू बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको विशेष प्रहरी टोलीले सोमवार दिउँसो अन्दाजी २ः०० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित कटहरबारी सडकको छेउमा बेवारिसे अवस्थामा छाडिएका ती कपडाहरू फेला पारी बरामद गरेको हो । भारतबाट भन्सार छली लुकाईछिपाई ल्याइएका ती कपडाहरू तस्करीमा संलग्न व्यक्तिहरूले प्रहरी टोलीलाई देखेपछि वा अन्य कुनै कारणले सडक छेउमै छाडेर फरार भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले बरामद गरेका कपडाहरूमा सबैभन्दा बढी एक हजार पिस सेतो सेन्डो भेष्ट र ३२४ पिस पेन्टी रहेका छन् । त्यसैगरी ७१ पिस बक्सर हापेन्ट, ३७ पिस एडिडास हापेन्ट, ३६ पिस कटन पेन्ट, २९ पिस सादा हापेन्ट, २७ पिस साडी, १४ पिस जिन्स पेन्ट, ११ पिस सर्ट र ६ पिस धारी हापेन्ट समेत बरामद गरिएको छ ।

बरामद गरिएका यी सम्पूर्ण कपडाहरूको जम्मा बजार मूल्य अन्दाजी दुई लाख उनन्साठी हजार नौ सय रुपैयाँ कायम गरिएको छ । बेवारिसे अवस्थामा बरामद गरिएका ती कपडाहरूलाई आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको र कपडा भित्र्याउने कार्यमा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

शेयर गर्नुहोस :

324
Shares