शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी चौथो स्व. कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिताको सोमवार सम्पन्न क्वाटरफाइनल खेलमा झिलझिले भेट्रानले विराट भेट्रानलाई ५–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलभर आक्रामक प्रदर्शन गरेको झिलझिलेका लागि प्रविन विश्वकर्माले शानदार ह्याट्रिक गर्दै टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरे । उनले खेलको १६ औं, ३२औं र ५३औं मिनेटमा गोल गरेका थिए । यस्तै अङ्कुर खड्गीले २८औं र ५५औं मिनेटमा थप दुई गोल गरे । विराट भेट्रानले खेलको उत्तरार्धमा पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन । विराटका लागि प्रकाश थापाले ३५औं मिनेटमा गोल गरे भने अर्को गोल लिलाराम मगरले गरेका थिए । खेलको म्यान अफ दि म्याच ह्याट्रिककर्ता प्रविन विश्वकर्मा घोषित भए ।
अब प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल मंगलवार आयोजक दुधे भेट्रान –सेतो र श्रीजङ्गा भेट्रानबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद रु. १ लाख ५१ हजार तथा उपविजेताले रु. ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।







प्रतिक्रिया