बिर्तामोड । गत वर्ष देशव्यापी रूपमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै झापाको इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई प्रहरीले नौ महिनापछि पुनः पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ स्थायी ठेगाना भई हाल झापाको दमक नगरपालिका वडा नं. ८ बस्ने ३५ वर्षीय भोला भन्ने भगवान लाल राय रहेका छन् । प्रहरीको प्रारम्भिक विवरणमा उनको उमेर २७ र ३५ वर्ष दुवै उल्लेख भए तापनि हाल उनी प्रहरी नियन्त्रणमा आइसकेका छन् ।
प्रहरीका अनुसार रायलाई वि.सं. २०८२ भदौ १९ गते बेलुका अन्दाजी ७ः०० बजे झापाको कमल गाउँपालिका वडा नं. ५ पाँडार्जुगीबाट ५ ग्राम १७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लागूऔषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको थियो । तर, अनुसन्धानकै क्रममा भदौ २४ गते देशमा चर्किएको जेन्जी आन्दोलनको भिडभाड र असहज परिस्थितिको फाइदा उठाउँदै राय हिरासत कक्षबाटै फरार हुन सफल भएका थिए । फरार भए लगतै प्रहरीले उनको व्यापक खोजी गरिरहेको थियो । यसै क्रममा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको विशेष प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनलाई फेला पारेको हो ।
फरार प्रतिवादीको निरन्तर खोजी गर्ने क्रममा जेठ १२ गते बेलुका अन्दाजी ८ः४० बजेको समयमा दमक नगरपालिका वडा नं. ६ स्थित पूर्व बसपार्क क्षेत्रमा लुकिछिपी हिँडिरहेको अवस्थामा उनलाई फेला पारी नियन्त्रणमा लिइएको हो ।
लागूऔषध मुद्दाका साथै हिरासतबाट भागेको थप कसुरमा समेत उनीमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइएको र इलाका प्रहरी कार्यालय दमकले यससम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया