बिर्तामोड । झापाको गौरादहमा स्कुल बसले किच्दा एक जना नाबालकको घटनास्थलमै दुखद मृत्यु भएको छ । प्रहरीका अनुसार आज साँझ गौरादह नगरपालिका वडा नं. ७ स्थित फगेटीमा सोही ठाउँका खड्ग चिमरियाका ४ वर्षीय छोरा आरोग्य चिमरियालाई किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय सजग एकता बोर्डिङ स्कुलमा अध्ययनरत बालक आरोग्यलाई विद्यालय समय सकिएपछि स्कुल कै १ ख ६९४० नम्बरको बसले घर पु¥याउन ल्याएको थियो । बसबाट ओराल्ने क्रममा अचानक सोही बसले बालकलाई किचेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगतै इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने ५७ वर्षीय बस चालक लाल बहादुर बस्नेत रहेका छन् ।
दुर्घटना पश्चात् आवश्यक कानुनी प्रक्रिया र मुचुल्का सम्पन्न गरी बेलुका ७ बजे बालकको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको छ ।







प्रतिक्रिया