झापा । दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै खेलमा शानदार पुनरागमन गरेको अर्जुनधारा–१ अर्जुनधारामा जारी वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ५ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ उपाधिनजिक पुगेको हो ।

खेलको सुरुवाती चौथो मिनेटमै प्रेम राजवंशीले गोल गर्दै वडा नम्बर ५ लाई अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित ७० मिनेटसम्म वडा नम्बर १ गोल फर्काउन संघर्षरत रह्यो ।
तर, दोस्रो हाफको अतिरिक्त समयमा विशाल गोलेले महत्वपूर्ण गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । गोलेको गोलसँगै खेल रोमाञ्चक बनेपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।
टाइब्रेकरमा अर्जुनधारा–१ का विशाल गोले, तेजन बुर्जा मगर, मनोज राई, मिराज मल्ल र गोपाल राईले गोल गरे । वडा नम्बर ५ का राम महत्तारा, रोहन दनुवार, बुद्ध चौधरी र प्रविन वास्केले प्रहारलाई गोलमा परिणत गरेपनि विपिन गजमेरको प्रहार अर्जुनधारा–१ का गोलरक्षक बुद्ध नेम्वाङले उत्कृष्ट बचाउ गरेपछि वडा नम्बर १ फाइनलमा पुग्न सफल भयो ।
टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका गोलरक्षक बुद्ध नेम्वाङ पहिलो सेमिफाइनल खेलका प्लेयर अफ दि म्याच घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा–३ का वडा अध्यक्ष सिताराम भट्टराई तथा समितिका सदस्य–सचिव खगेन्द्र लिङ्देनले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ८ र वडा नम्बर ११ बीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले जेठ १७ गते हुने फाइनलमा वडा नम्बर १ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछन् । वडा स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्दै नगरस्तरीय टोली निर्माणका लागि खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
अर्जुनधारा–९ को गोलधाप युवा क्लब प्रतियोगिताको सह–आयोजक रहेको छ ।







प्रतिक्रिया