शनिश्चरे । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) को ३० औं स्थापना दिवसको अवसर पारेर अर्जुनधारामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मजदुरहरुको बौद्धिक क्षमता बिकासका लागि क्यूपेक नेपाल अर्जुनधारा नगर कमिटीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
प्रतियोगितामा भोटेटार ढुङ्गाखानी प्रतिष्ठान कमिटी बुद्धशान्ति –१ प्रथम, क्यूपेक बुद्धशान्ति गाउँ कमिटी द्वितीय, टप्पु ढुङ्गाखानी अर्जुनधारा – १ तृतीय भएको निर्णायक प्रेम आचार्यले जानकारी दिए । उनका अनुसार मेची नगर क्यूपेक कमिटीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्रसहित पानस र नगद राशी प्रदान गरिएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं क्यूपेक नेपालका केन्द्रीय सदस्य देवकुमार राई, विशिष्ट अतिथि तथा क्यूपेक जिल्ला कमिटी अध्यक्ष निरानन्द गिरी, सहसचिव कृष्ण बहादुर बस्नेतले प्रतियोगितामा बिजेता हुनेलाई प्रमाणपत्रसहित पानस, नगद पुरस्कार प्रदान गरेका थिए ।
क्यूपेक अर्जुनधारा नगर कमिटीका अध्यक्ष लोकनाथ दुलालको सभापतित्व र सदस्य ममता काफ्लेले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि राई, विशिष्ट अतिथि गिरी निर्णायक आचार्य लगायतले मन्तव्य राख्दै बिजेताहरुलाई बधाई तथा शुभकामना दिएका थिए । प्रतियोगिता कार्यक्रममा ५ वटा टिमको सहभागीता रहेको क्यूपेक नेपाल अर्जुनधारा नगर कमिटीका प्रमुख सल्लाहकार तिल बहादुर तामाङ र कोषाध्यक्ष धिरेन राजवंशीले जानकारी दिए ।







प्रतिक्रिया