Banner news

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ : प्रमुख सचेतक महर

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ : प्रमुख सचेतक महर


काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।

बिहीबार संसदीय मामिलाका पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महरले विश्वका कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नै देशले अर्को देशको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिने बताए ।

उनले उक्त भनाइ देश र जनताप्रतिको गद्दारीसरह रहेको दाबी गर्दै प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेका ती शब्दहरू संसदीय रेकर्डबाट हटाइनुपर्ने एमालेको माग रहेको बताए ।

उनले भने,‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ भनेर राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही छ । एक प्रकारले यो देश र जनताप्रतिको गद्दारी थियो । हाम्रो निष्कर्ष पनि त्यही थियो । यो गम्भीर कुरा थियो । अहिलेसम्म हाम्रो देशको मात्र होइन विश्वका कुनैपनि सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नो देशले अर्को देशको भुमि मिचेको छ भन्दैन । त्यसैले यो राष्ट्रघाती, देशद्रोही र गैरजिम्मेवार विचार सदनमा राख्नुभयो । त्यसैले उहाँको त्यो शब्दहरु संसदीय रेकर्डबाट हटाउनुपर्छ भन्ने माग हो ।’

महरले सदनको गरिमा कायम गर्ने जिम्मेवारी प्रधानमन्त्री र सभामुखको भएको उल्लेख गर्दै त्यसमा असफल भए संसद्को कार्यप्रणाली र औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताए ।

उनले विवादित अभिव्यक्तिबारे स्पष्ट निर्णय गरेर मात्र संसद्को कार्यसूची अगाडि बढाउनुपर्ने भन्दै यही विषयमा एमालेले सदनमा विरोध जनाएको बताए ।

उनले भने,‘सदनको गरिमा प्रधानमन्त्री र सभामुखले राख्न सक्नुहुन्न भने त्यो सदनको काम कारवाही निरन्तर अगाडि बढाइरहने कुराले सदनको आयुमाथिपनि प्रश्न उठ्छ । यो सदन यही ढंगले जाने कि नजाने भन्ने कुरा उठ्छ । त्यसैले यो छिनोफानो गरेर अगाडि जानुपर्छ भनेर विरोध गरेका हौं ।’

शेयर गर्नुहोस :

0
Shares