Banner news

नेपाली चिया निर्यातमा फेरि भारतकाे अवरोध

नेपाली चिया निर्यातमा फेरि भारतकाे अवरोध


झापा । नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ । यसअघि वैशाख १८ गतेदेखि अवरोध भएको चिया निर्यात झन्डै ३ हप्तापछि केहि सहज भएको थियो । त्यस बेला भारतीय चिया बोर्ड (टी–बोर्ड अफ इन्डिया) ले नेपालबाट जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो ।

व्यापक विरोधपछि भारतीय पक्षले जेठ ६ गते हरेक ट्रकको परीक्षण नगरी ‘र्‍यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि रोकिएको चिया निर्यात शुरू भएको थियो ।

अहिले के कारणले चियाको निर्यात रोकिएको हो ठ्याक्कै जानकारीमा नआएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले उज्यालोसँगको कुराकानीमा बताउनुभएको छ । उहाँका अनुसार यसअघि अवरोध खुल्यो भनेर आए पनि नेपालतर्फबाट चिया गएको छैन । व्यवसायीले पनि जानकारी नगराएका हुमागाईंले बताउनुभएको छ ।

तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना सङ्कलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमी बताउँछन् । केही परिमाणको नेपाली चिया भारतीय गोदाममै थन्किएको छ । सिलिगुडी र कोलकातालगायतका गोदाममा चिया थन्किएको हो ।

पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । यो चिया निकासी हुने मुख्य नाका मेची भन्सार हो ।

शेयर गर्नुहोस :

0
Shares