बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापामा प्रशिक्षणको स्तर तथा गुणस्तरीयता अभिवृद्धि गर्ने उद्देश्यका साथ एक विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धि विक्रम शाहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक शाहले प्रहरी संगठनको व्यवसायिकता र कार्यदक्षता बढाउन तालिमको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो । उहाँले समयसापेक्ष रूपमा प्रशिक्षणको स्तर र गुणस्तरीयतालाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुहुँदै कार्यक्षेत्रमा देखिने चुनौतीहरूलाई कुशलतापूर्वक सामना गर्न प्रहरी कर्मचारीहरू सदैव तत्पर रहनुपर्ने बताउनुभयो ।
उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरूले प्रशिक्षणका क्रममा भोगेका अनुभव र आगामी दिनमा सुधार गर्नुपर्ने विविध पक्षहरूका बारेमा आफ्ना धारणा तथा सुझावहरू राखेका थिए । छलफलमा आगामी दिनमा प्रहरी प्रशिक्षणलाई अझ बढी व्यावहारिक र नतिजामुखी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।







प्रतिक्रिया