बिर्तामोड । झापाको दमक नगरपालिका वडा नम्बर – १० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान भएसँगै प्रहरीले हत्या र जबरजस्ती करणीको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत फेला परेकी महिला दमक नगरपालिका वडा नम्बर ८ बसन्त टोल निवासी अन्दाजी – २१ वर्षीया रोमा भनिने रमा तिवारी हुन् । उनको शव बुबा नारायण तिवारीले पहिचान गरेका थिए ।

घटना सार्वजनिक भएलगत्तै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राविधिक टोली, नेपाल प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी टोलीले सूक्ष्म निगरानी, प्राविधिक विश्लेषण र वारदात स्थल वरपरको सीसीटीभी फुटेजको अध्ययन गरेपछि घटनामा संलग्न व्यक्तिको पहिचान गर्न सफल भएको प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
अनुसन्धानका क्रममा भारतको बिहार राज्यस्थित अररिया जिल्ला ग्राम पंचायत सिरसिंयाकला घर भई हाल झापाको दमक नगरपालिका वडा नम्बर ५ मा डेरा गरी बस्ने ३४ वर्षीय राकेश कुमार पण्डित घटनामा संलग्न रहेको खुलेको छ । पेशाले टाईल्स मिस्त्रीको काम गर्ने पण्डितलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले उनको आफ्नै डेराबाट राती ११ बजे पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक तिवारी र आरोपी पण्डितबीच पैसाको विषयलाई लिएर विवाद उत्पन्न भएको र सोही झगडाका क्रममा हत्या गरिएको आरोपीले स्वीकार गरिसकेका छन् । यस घटनाको सम्बन्धमा प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यान सम्बन्धी कसूर र जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । थप अनुसन्धान र कानुनी कारबाहीका लागि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले घटनास्थल र आरोपीको डेराबाट बरामद गरेका दशी प्रमाणहरू समेत सार्वजनिक गरेको छ । आरोपीले मृतकलाई भेट्दा लगाएको टमी हिलफिगर लेखिएको क्रिम रङको रातो, नीलो र कालो धर्का भएको टिसर्ट, फ्लुगोल्ड जिन्स लेखिएको नीलो पाइन्ट र क्रिम रङको एक जोर जुत्ता रहेका छन् । मृतकलाई चढाएर लगेको भनिएको मे २ प ८२३ नम्बरको नीलो रङको होन्डा शाइन मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । लाश फाल्न प्रयोग भएको भारतीय नम्बर प्लेटको मोटरसाइल, ३ थान मोवाइल, चप्पल फेला परेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया