Banner news

झापामा रास्वपाको अधिवेशन : सर्वसम्मत हुने छाँट कमजोर

झापामा रास्वपाको अधिवेशन : सर्वसम्मत हुने छाँट कमजोर


झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा) को जिल्ला अधिवेशन जेठ २३ र २४ गते हुँदैछ । झापामा पनि सोही अनुसार नेतृत्व चयन पेचिलो बन्दै गएको छ । कोशी प्रदेशको उदयपुर, इलाम र धनकुटा बाहेक अन्य जिल्लामा एकै साथ प्रथम अधिवेशन हुदैछ ।

झापामा प्रथम अधिवेशनबाट अध्यक्ष बन्न लाग्नेहरुको लाइन लामो छ । रास्वपाभित्र झापामा संगठन निर्माण गर्नेहरुले अध्यक्षमा जोडदार दावी गरिरहेका छन् । अध्यक्षका लागि झापामा बिर्तामोडका अर्जुन मैनाली, मेचीनगरका ओम भण्डारी र भद्रपुरका लक्ष्मण बस्नेतले बलियो दावी पेश गर्दै आएका छन् ।

यस्तै, राजेन्द्र खनाल, शम्भु भण्डारी, लक्की सिटौलाले अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् । खनाल विवेकशिलबाट रास्वपा आएका हुन् भने भण्डारी यसअघि बिर्तामोडका नगर सभापति थिए । सिटौलाले बालेन शाहलाई निर्वाचनमा घर उपलब्ध गराएकी थिइन् । उनीहरुबीच सर्वसम्मतिको प्रयास भइरहे पनि सहमति जुट्ने छाँटकाट नरहेको बुझिएको छ । झापामा ९ सय बढी प्रतिनिधि रहने छन् ।

पालिकाका अध्यक्ष र पदाधिकारीहरुले जिल्ला अध्यक्षमा उम्मेदवारी दिन नसक्ने प्रावधान रहेको छ । रास्वपाको विधान अनुसार हरेक जिल्लामा ५ जना पदाधिकारी हुनेछन् । पदाधिकारी मध्ये कोषाध्यक्ष भने निर्वाचित समितिले छनौट गर्ने छ । अधिवेशनबाट एक जना सभापति, एक जना उपसभापति, सचिव र सहसचिव छनोट हुनेछन् ।

फागुन २१ मा भएको निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिकको बहुमत हासिल गरेपछि सो पार्टीको नेतृत्वमा पुग्न आकांक्षी धेरै भएका छन् । आकांक्षी धेरै भएपछि नेताहरूलाई कार्यकर्ताको व्यवस्थापन गर्न सकस परेको छ । रास्वपाले अधिकांश जिल्लामा निर्वाचनबाट नयाँ नेतृत्व छनौट गर्ने तयारी गरेको छ । रास्वापाका नेताहरुले कसैलाई पनि उम्मेदवर नबन नभन्ने बताएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट जितेर आउनेलाई नेतृत्व प्रदान गरिने जनाइएको छ । रास्वपाले अधिवेशनमा गुटबन्दीलाई निषेध गरेको जनाएको छ ।

रास्वपाभित्र गुटबन्दी प्रतिवन्ध लगाए पनि संस्थापन समूह र बालेन समूहका रूपमा विभाजन देखिएको छ । झापामा सोही प्रकृतिको गुटबन्दी चरम रुपमा मौलाएको स्थानीय एक नेताले जानकारी दिए ।

रास्वपाको जिल्ला अधिवेशनमा सबै पालिकाका पदाधिकारी र सदस्य प्रतिनिधि हुने व्यवस्था रहेको छ । यस्तै वडा सभापतिहरू पनि अधिवेशनमा प्रतिनिधि रहने जनाइएको छ । अधिवेशनमा भूगोलमा कार्यरत प्रदेश र केन्द्रीय समितिका सदस्य र पदाधिकारी पनि सहभागी हुने छन् । यस्तै पार्टीका प्रदेश र केन्द्रका विभागका संयोजक र सदस्य पनि अधिवेशनमा प्रतिनिधि हुने छन् ।

जिल्ला सभापति विवादमा परेपछि तानिएपछि हाल कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रकाश पाठकले सम्हालिरहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares