Banner news

बिर्तामोडमा जेठ ३० र ३१ गते दुई दिने ‘रोजगार मेला’

बिर्तामोडमा जेठ ३० र ३१ गते दुई दिने ‘रोजगार मेला’


बिर्तामोड – बिर्तामोडमा आगामी जेठ ३० र ३१ गते दुई दिने ‘रोजगार मेला’ आयोजना हुने भएको छ। बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा उक्त मेला हुन लागेको हो। मेलाको तयारी र प्रभावकारिताका विषयमा आज नगरपालिकाले सरोकारवाला पक्षहरूसँग वृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ।

छलफल कार्यक्रममा बोल्दै मेलाका सहजकर्ता सेवक बजगाईले रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूका लागि यो मेला निकै महत्त्वपूर्ण कडी बन्ने बताउनुभयो। उहाँका अनुसार मेलामा विभिन्न उद्योग, व्यवसाय र कम्पनीहरूका २५ वटा स्टलहरू रहनेछन् भने मेलामा २ हजारभन्दा बढी युवाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

नगरपालिकाका अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षित, अशिक्षित, दक्ष तथा अदक्ष सबै नागरिकका लागि यो मेला लाभदायक हुनेछ।विशेषगरी भर्खरै औपचारिक शिक्षा पूरा गरेका विद्यार्थी, औपचारिक शिक्षाका साथै विशेष सीप भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त नागरिक र वैकल्पिक समयमा काम गर्न चाहने व्यक्तिहरू मेलामा सहभागी हुन सक्नेछन्।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस मेलाबाट रोजगारदाताले आफ्नो आवश्यकता अनुसारका दक्ष कामदार पाउने र बेरोजगार व्यक्तिहरूले योग्यता अनुसारको काम पाउने विश्वास व्यक्त गर्नुभयो। छलफलमा सहभागी उद्योगी तथा सरोकारवालाहरूले स्थानीय स्तरमा दक्ष कामदार नभेटिँदा बाध्य भएर भारतीय कामदारहरू ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यो मेलाले उक्त बाध्यता अन्त्य गर्न सघाउने आशा व्यक्त गरेका छन् ।

छलफल कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष पाठक, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओम बिमली, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो।

दुई दिनसम्म चल्ने उक्त रोजगार मेला बिर्तामोडस्थित अतिथि सदनमा आयोजना गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares