मुख्य समाचार

आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वमा मोडिँदै हाम्रो नेपाल

आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वमा मोडिँदै हाम्रो नेपाल


भद्रपुर । पछिल्लो समय सहकारी संस्थाहरू वित्तीय कारोबारमा मात्र सीमित नभई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका सेवामूलक गतिविधिमा सक्रिय हुन थालेका छन् । यसै सन्दर्भमा झापाको हाम्रो नेपाल साकोसले मोफसलका विपन्न तथा ग्रामीण नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित बृहत् स्वास्थ्य अभियान सञ्चालन गरेको छ ।

संस्थाको मुख्य कार्यालय बिर्तामोडको आयोजना तथा ओम् साई पाथिभरा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालय परिसरमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त शिविरबाट स्थानीय तहमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा नपाउने ३५८ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

शिविरको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले वर्तमान अवस्थामा सहकारी संस्थाहरू आर्थिक नाफा–घाटामा मात्र सीमित हुन नहुने धारणा राख्नुभयो। उहाँले “सहकारीहरू समुदायप्रति उत्तरदायी हुनुपर्छ, वित्तीय कारोबारसँगै नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षामा जोडिनु नै वास्तविक सहकारीता हो” भन्नुभयो ।

विशेषज्ञ सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रमा स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा यस्ता कार्यक्रम आवश्यक रहेको जनप्रतिनिधिहरूले बताएका छन् । मेचीनगर नगरपालिका–७ का वडाध्यक्ष प्रल्हादमणि ओली र वडा नं. ८ का वडाध्यक्ष गिरिराज धमलाले विपन्न तथा पछाडि पारिएका समुदायलाई लक्षित गरी घरदैलोमै विशेषज्ञ चिकित्सक सेवा उपलब्ध गराइनु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो ।

हाम्रो नेपाल साकोसका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न शिविरमा ओम् साई पाथिभरा हस्पिटलका विशेषज्ञ चिकित्सकहरूले स्त्री तथा प्रसूति, बाल रोग, नाक–कान–घाँटी, हाडजोर्नी तथा नसा, दन्तरोग, आँखा तथा जनरल फिजिसियन गरी सात विधामा सेवा प्रदान गरेका थिए ।

शिविरमा बिरामीहरूलाई निःशुल्क परामर्श तथा औषधि वितरण गरिएको थियो भने आवश्यक सेवाग्राहीहरूलाई चस्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ ।

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले शिविरले स्थानीय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । संस्थाको इटाभट्टा सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक पर्शुराम गिरीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares