काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलको बैठक राखेको छ। प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक राखेको हो।
बैठक अहिले जारी छ। आफूहरूले राखेको माग सम्बोधन गर्न सरकारले वेवास्ता गरेपछि थप रणनीति बनाउन कांग्रेसले बैठक राखेको छ।

विपक्षी दलले प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान राखेको छन्।
तर, प्रधानमन्त्री बालेन शाह विपक्षीको मागअनुसार सदनमा आउन तयार छैनन्। हिजो रास्वपा सभापति रवि लामिछानेले विपक्षी दलसँग संवादबाट सहमतिको प्रयास खोजेपनि कुरा मिल्न सकेको छैन।
सभामुखले भोलि बिहान ११ बजेसम्मको लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।
कांग्रेसले राखेको जारी बैठकमा संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, सचेतक निश्कल राई, एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर सहभागी छन्। यस्तै नेकपाबाट वर्षमान पुन, राप्रपाबाट खुश्बु ओलीलगायत नेताहरू सहभागी छन्।







प्रतिक्रिया