शिवसताक्षी । शिवसताक्षी नगरपालिका–६ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने १० जना विद्यार्थीलाई सम्मान गरेको छ।
वडाले नगरका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको शैक्षिक उपलब्धिको कदर गरेको हो।

सम्मानित हुने विद्यार्थीहरूमा ४.०० जिपिएसहित उत्तीर्ण भएका भानु माध्यमिक विद्यालय पाराबारीका मञ्जिल नेपाल र भानु माध्यमिक विद्यालय लालझोडाका कञ्चन काफ्ले रहेका छन्। त्यसैगरी ३.९६ जिपिए प्राप्त गर्ने रेडरोज एकेडेमीका आभाष तिम्सिना र भानु माध्यमिक विद्यालय लालझोडाकी सर्वदा बोहोरा, ३.९५ जिपिए ल्याउने भगवती माध्यमिक विद्यालयका सार्थकबाबु दाहाल, ३.९२ जिपिए प्राप्त गर्ने चेतना माध्यमिक विद्यालयकी कृषा चेङवाङ र धरमपुर प्रज्ञा पाठशालाकी निर्जना बस्नेत सम्मानित भएका छन्।
यस्तै ३.९१ जिपिए प्राप्त गर्ने चेतना माध्यमिक विद्यालयका दीक्षित दुलाल र गरिमा दुलाल तथा भगवती माध्यमिक विद्यालयकी प्रेसिका खनाललाई पनि सम्मान गरिएको वडाले जनाएको छ। कार्यक्रममा वडा बाल सञ्जालका वडा नं. ३ का अध्यक्ष पवन दाहाललाई समेत सम्मान गरिएको थियो।
विद्यार्थीहरूलाई वडा अध्यक्ष मनोज खुलाल कार्की र वडा सदस्य गोमा रिजालले सम्मानपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कार्कीले विद्यार्थीहरूको सफलता अथक मेहनत, लगनशीलता र अनुशासनको परिणाम भएको बताउनुभयो। उहाँले विद्यार्थीको सफलतामा अभिभावक, शिक्षक र स्वयं विद्यार्थीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूको मनोबल उच्च बनाउन तथा थप प्रोत्साहन प्रदान गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
वडा अध्यक्ष कार्कीले उच्च शिक्षा हासिल गरेपछि आफ्नै देशमा रहेर योगदान दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। शिक्षित र ऊर्जाशील जनशक्तिको देशका सबै क्षेत्रमा आवश्यकता रहेको उल्लेख गर्दै ठूलो अपेक्षा राखेर विदेशिने प्रवृत्ति बढ्दै जानु सकारात्मक नभएको उहाँको भनाइ थियो।
सम्मानित विद्यार्थीहरुको तर्फबाट बोल्दै मञ्जिल नेपालले आफ्ना छोरा छोरीहरुलाई उत्कृष्ट बनाउने बहनामा पढाईमा दवाव दिइने प्रचलन छ । तर आफुुले विना दवाव बढेर उत्कृष्ट जिपिए ल्याउन सफल भएको बताए । उत्कृष्ट जिपिए ल्याउने वित्तिकै साइन्स पढ्नका लागि दवाव हुन्छ । उनले भने, त्यस्तो होइन जुन विद्यार्थी आफुले इच्छाएको विषय पढ्छ उसले मात्र सफलता हासिल गर्न सक्छ ।
कार्यक्रममा भानु माध्यमिक विद्यालय लालझोडाका प्र.अ. डामकुमार कुँवर, भगवती माध्यमिक विद्यालयका प्र.अ. रमेश दाहाललगायत उत्कृष्ट विद्यार्थीहरुका शिक्षक तथा प्र.अ.हरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन वडासचिव सन्तोष रिमालले गर्नुभएको थियो ।







प्रतिक्रिया