झापा । सामाजिक उत्तरदायित्व, समावेशी शिक्षा तथा सामुदायिक विकासलाई प्रवर्धन गर्ने उद्देश्यले झापाको तक्षशिला प्रोग्रेसिभ इङलिस स्कुलले एक विशेष कार्यक्रमका बीच स्थानीय मदरसाहरूलाई शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण गरेको छ । स्कुलले झापा गाउँपालिकास्थित मदरसा इस्लामिया रोहिमारी तथा मुस्लिम छात्रा मदरसालाई उक्त सहयोग उपलब्ध गराएको हो ।
तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलका संरक्षक दुर्गा प्रसाद प्रसाईको विशेष उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यार्थीहरूको अध्ययन अध्यापनलाई थप सहज, व्यवस्थित तथा गुणस्तरीय बनाउने उद्देश्यका साथ मदरसाहरुलाई ६० सेट डेस्क–बेन्च उपलब्ध गराइएको छ । विद्यार्थीहरूको सुविधाजनक अध्ययनका लागि १० वटा कक्षाकोठा पूर्ण रूपमा फर्निचरसहित व्यवस्थापन गरिएको छ ।
उक्त सहयोगले विद्यार्थीहरूलाई थप सुरक्षित, सहज र अनुकूल शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने विश्वास लिइएको छ ।
कार्यक्रममा बोल्दै संरक्षक प्रसाईले शिक्षा नै समाज रूपान्तरणको मुख्य कडी भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशका हरेक बालबालिकाले गुणस्तरीय शिक्षामा समान पहुँच प्राप्त गर्नुपर्छ । शैक्षिक संस्थाहरूको सुदृढीकरण तथा आवश्यक पूर्वाधार विकासमार्फत मात्र सक्षम र शिक्षित समाज निर्माण गर्न सकिन्छ ।’
त्यसैगरी, तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलकी कार्यकारी निर्देशक डा। अञ्जली कार्की प्रसाईले शिक्षालाई आफ्ना विद्यार्थीहरूमा मात्र सीमित नराखी समाजका हरेक वर्ग र समुदायसम्म पु¥याउने स्कुलको नीति रहेको स्पष्ट पार्नुभयो । यस्ता सहयोगात्मक कार्यक्रमहरूले सामाजिक सद्भाव, समावेशिता तथा शैक्षिक अवसरहरूको विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने उहाँको विश्वास थियो ।

शैक्षिक सामग्री हस्तान्तरण पश्चात सोही स्थलमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक एवं चिकित्सकीय सहयोगमा आयोजित उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले स्थानीय बासिन्दा, विद्यार्थी तथा अभिभावकहरूको स्वास्थ्य परीक्षण गरी परामर्श र आवश्यक स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, मदरसा व्यवस्थापन समिति, शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा स्कुलले पु¥याएको यो योगदानको उच्च प्रशंसा गर्दै यस्ता सकारात्मक कार्यक्रमहरूले निरन्तरता पाउनुपर्ने जोड दिएका थिए ।







प्रतिक्रिया