विनोद सापकोटा
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका विद्यार्थी अब विज्ञान विषय अध्ययनका लागि दमक, बिर्तामोड वा अन्य सहर धाउनुपर्ने बाध्यताबाट मुक्त हुने भएका छन् । नगरपालिकाको वडा नं. ११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले कक्षा ११ मा विज्ञान संकाय सञ्चालनको स्वीकृति पाएपछि स्थानीय अभिभावक र विद्यार्थीमा उत्साह छाएको छ ।
विस २०२६ सालमा स्थापना भएको विद्यालयले २०५६ सालदेखि कक्षा ११ सञ्चालन गर्दै आएको भए पनि हालसम्म व्यवस्थापन र शिक्षा संकायमा मात्र अध्यापन गराउँदै आएको थियो । यस वर्षदेखि भने पहिलो पटक विज्ञान संकाय सञ्चालनको अनुमति प्राप्त भएपछि विद्यालयले आवश्यक पूर्वाधार, प्रयोगशाला तथा दक्ष शिक्षकको व्यवस्था गरिसकेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्माका अनुसार विज्ञान संकायका लागि ४० जना विद्यार्थीको कोटा स्वीकृत भएको छ । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट यस वर्ष एसइईमा उत्कृष्ट जीपीए हासिल गरेका तथा विज्ञान अध्ययन गर्न इच्छुक विद्यार्थीलाई क्षमताका आधारमा भर्ना गरिने उनले बताए ।
विज्ञान संकाय सञ्चालनका लागि विद्यालयले विषयगत शिक्षक छनोटसमेत गरिसकेको छ ।
गणितका लागि भुवन घिमिरे, फिजिक्सका लागि अरुण रेग्मी, केमिस्ट्रीका लागि प्रमोद बुढाथोकी, बायोलोजीका लागि नारायण भट्टराई, कम्प्युटर साइन्सका लागि देवनारायण चौधरी, नेपाली विषयका लागि नइन्द्र आचार्य तथा अङ्ग्रेजी विषयका लागि गोपाल लक्समलाई अध्यापनको जिम्मेवारी दिइएको छ ।
प्रधानाध्यापक शेर्माका अनुसार विद्यालयले विज्ञान संकायका लागि आवश्यक साइन्स ल्याब तयार गरिसकेको छ । विद्यार्थीले कक्षाकोठामा सैद्धान्तिक अध्ययनसँगै प्रयोगात्मक अभ्याससमेत गर्न पाउनेछन् । विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट अध्ययन अध्यापन हुँदै आएको छ भने व्यावहारिक शिक्षालाई पनि विशेष प्राथमिकता दिइँदै आएको छ ।
स्थानीय तहभित्र विज्ञान शिक्षा उपलब्ध नहुँदा वर्षेनी धेरै विद्यार्थी दमक, बिर्तामोड, इटहरी तथा अन्य सहरका विद्यालयमा अध्ययन गर्न जान बाध्य थिए । यसले अभिभावकमाथि आर्थिक भार बढाउनुका साथै विद्यार्थीलाई घरदेखि टाढा बस्नुपर्ने अवस्था सिर्जना गर्ने गरेको थियो । अब भने सो समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।
विद्यालयले विज्ञान संकायका विद्यार्थीका लागि घरबाट विद्यालयसम्म ल्याउने र पु¥याउने यातायात सुविधा समेत उपलब्ध गराउने जनाएको छ। न्यून शुल्कमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने भएकाले आर्थिक रूपमा पनि अभिभावकलाई राहत पुग्ने विश्वास गरिएको छ । विद्यालयको लेखा शाखाका अनुसार विज्ञान संकायका नाममा अतिरिक्त शुल्कसमेत लिइने छैन ।
विद्यालय प्रशासनले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका सञ्चालक, प्रिन्सिपल तथा अभिभावकलाई आफ्ना विद्यार्थीलाई नगरभित्रै अध्ययन गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेको छ । गुणस्तरीय पूर्वाधार, अनुभवी शिक्षक, प्रयोगशाला, यातायात सुविधा तथा वर्षेनी प्राप्त उत्कृष्ट नतिजाका कारण स्थानीय विद्यार्थीलाई बाहिरी विद्यालयमा पठाउनुपर्ने आवश्यकता नरहेको विद्यालयको भनाइ छ ।
विद्यालयका अभिभावक उमेश अधिकारीले नगरमै विज्ञान संकाय सञ्चालन हुनु गौरवको विषय भएको बताए । “हामीले वर्षौंदेखि आफ्ना छोराछोरीलाई विज्ञान पढाउन बाहिर पठाउनुपर्ने बाध्यता भोग्दै आएका थियौँ । अब आफ्नै नगरमा गुणस्तरीय शिक्षा उपलब्ध हुनु खुसीको कुरा हो,” उनले भने ।
शिक्षा क्षेत्रमा यस कदमले दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ । विज्ञान तथा प्रविधि क्षेत्रमा रुचि भएका विद्यार्थीलाई स्थानीय स्तरमै अवसर उपलब्ध हुँदा शैक्षिक पलायन कम हुने, अभिभावकको खर्च घट्ने र नगरभित्रै शैक्षिक प्रतिस्पर्धा तथा गुणस्तर अभिवृद्धि हुने विश्वास गरिएको छ ।
शान्त वातावरण, अनुशासित शैक्षिक संस्कार, सुविधा सम्पन्न पूर्वाधार र अनुभवी शिक्षकको टोलीका कारण राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय आगामी दिनमा शिवसताक्षी नगरपालिकाभित्र विज्ञान शिक्षाको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ । स्थानीय तहमा पहिलो पटक विज्ञान संकाय सञ्चालन हुन थालेपछि नगरको शैक्षिक विकासमा नयाँ अध्याय सुरु भएको सरोकारवालाहरूको विश्वास छ ।







प्रतिक्रिया