Banner news

बिर्तामोडमा रोजगार मेला : सुरु नभई ४ सय जनाको माग

बिर्तामोडमा रोजगार मेला : सुरु नभई ४ सय जनाको माग


बिर्तामोड । बिर्तामोड नगरपालिकाले रोजगारी प्रदान गर्न रोजगार मेलाको भव्य तयारी गरेको छ । बिर्तामोडस्थित अतिथि सदनमा आयोजना गरिने मेलामा रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरुबीच समन्वय हुनेछ ।

बिर्तामोड नगरपालिकाको आयोजना र बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा हुन गइरहेको दुई दिवसीय रोजगार मेलामा २५ सयले अवलोकन गर्ने अनुमान गरिएको छ । रोजगारीको खोजीमा रहेका २५ सय बेरोजगार युवाहरु मेलामा सहभागी भई आफूले खोजेको क्षेत्रमा आवद्ध हुन सक्ने अनुमान गरिएको छ ।

जेठ ३० र ३१ गते आयोजना हुन गइरहेको मेलाका बारेमा जानकारी दिन बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा रोजगारीको खोजी गर्नेहरुलाई सहभागी हुन आव्हान गरिएको छ । रोजगार मेलामा रोजगारदाताहरु आउने र आफ्नो योग्यता, सीप, क्षमता र रोजाईको क्षेत्रमा काम गर्न सकिने जनाइएको छ । रोजगारी खोज्ने र दिनेहरुबिच भेटघाट हुने रोजगार मेलामा रोजगार प्रदायक संस्थाहरुले तत्कालै आवद्धताका लागि आव्हान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

रोजगार मेलाका सहजकर्ता सेवक बजगाईले रोजगार प्रदायक संस्थाहरु उद्योग, व्यवसायी, होटल, स्कुल, कलेज, बैंक, विमा संस्था, पर्यटन लगायतका क्षेत्रहरु आउने जानकारी दिए । उनका अनुसार कामको खोजीमा रहेकाहरुलाई रोजगार मेला महत्वपूण हुन सक्ने छ ।

५ सयदेखि १ हजारभन्दा धेरै युवाहरुले मेलामै अन्तरवार्ता दिन सक्ने छन् । रोजगारदाताले मेला मार्फत काममा जोडिनेहरुलाई १ हप्तामा २ सय जनासम्मलाई प्रक्रिया पुरा गरेर रोजगारी दिन सक्ने अनुमान गरिएको छ । १८ वर्षदेखि ५९ वर्षसम्म उमेरका व्यक्तिहरुले मेलामा सहभागी भई रोजगारीको लागि सहभागी हुन सक्ने छन् । शिक्षित, अशिक्षित, दक्ष, अदक्ष, अर्धदक्ष वा सबै खाले कामदारले रोजगार मेलामा सहभागी भई काममा जोडिन सक्ने छन् । त्यसका लागि रोजगारदाताले कामदारको रुपमा स्वीकार गर्नुपर्ने छ ।

सो रोजगार मेलामा सफलताका कथा देखाइने बजगाईले जानकारी दिए । उनले मेलामा उद्यमीसँग अन्तरक्रिया गर्न पाइने, अन्तरर्वार्ता दिन सकिने बताए ।

पत्रकार सम्मेलनमा रोजगार मेलाको बारेमा व्यापक चर्चा गरिएको थियो । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रोजगारीको खोजीमा रहनेहरुलाई सहभागी हुन आव्हान गरेका छन् । उनले रोजगार दिनेहरुको उपस्थिति हुने हुँदा कामको खोजीमा हुनेहरुलाई पनि सहभागी हुन आग्रह गरेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रोजगारी सिर्जनाका लागि नगरपालिकाले आयोजना गर्न लागेको मेला असाध्यै अर्थपूर्ण रहेको बताएका छन् । उनले बेरोजगार युवाहरुका लागि लाभदायिक हुने प्रक्रिया दिए ।

पत्रकार सम्मेलनमा कामदारको ज्यालाका विषयमा प्रश्न उठेको थियो । सरकारले तोकेको न्यूनतम ज्याला, सामाजिक सुरक्षा लगायतका विषयमा पत्रकारले जिज्ञासा राखेका थिए । जवाफमा आफसी समझदारीकै मापदण्डमा रोजगारदाताले रोजगारी दिने बताइएको थियो । पत्रकार सम्मेलनसम्म ४ सय जनाका लागि रोजगार दिन जनशक्ति माग भइसकेको बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares